सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

महिला हिंसा रोक्न दोषीलाई मृत्युदण्ड दिनेबारे छलफल गर्न सकिन्छ: मन्त्री थापा

२४-भाद्र-२०७६ | ०६:०७:३६ pm

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् ।

यद्धपी उनले अहिले भएका कानूनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताईन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको बताइन । संविधान, कानून र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भनिन्,‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घट्नामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानून बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’

उनले महिला हिंसाका घट्ना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । अहिलेपनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारबाही भैरहेको उनले स्पष्ट पारिन् ।

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको उनको विश्वास थियो । उनले भनिन्,‘हामीले त्यहीअनुसारको महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री कानून तथा ऐनहरु बनाएका छौं ।’ संविधानको मर्म र भावनाअनुसार कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।’

मन्त्री थापामगरले अहिलेपनि महिलामाथि हुने हिंसाहरु यथावत रहेकोमा भने चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘सरकार महिला हिंसाविरुद्धका घट्ना न्यूनीकरण गर्न गम्भिर छ । सरकारबाट ईतिहासमै नभएको काम भएको छ । हामीले महिला हिंसाविरुद्धका अभियान सञ्चालन गरेका छौं ।

जुन यसअघिका कुनैपनि सरकारले गरेका थिएनन् । अहिले ७ वटै प्रदेशमा महिला हिंसाविरुद्धका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’ उनले २०७६ लाई सरकारले महिला हिंसाविरुद्धको अभियान वर्षको रुपमा मनाईरहेको पनि सुनाईन् ।

मुलुकमा व्यवस्था परिवर्तन भएपनि अहिलेपनि पूरातन सोच, चिन्तन र व्यवहार परिवर्तन नभएको भन्दै मन्त्री थापामगरले चिन्ता व्यक्त गरिन् । सरकार एक्लैको प्रयासबाट मात्रै महिला हिंसाको घट्ना न्यूनीकरण नहुने भन्दै उनले नागरिक समाज, सचेत नागरिक सबैले महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिईन् ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार