सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ

 

कैलाली । कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम थालेका हुन् ।

वनगाउँका सबै सडक सरसफाइ गरिएका छन् । बर्सातको समय भएकाले सडकमा झारफात तथा फोहर हुने, लामखुट्टे, सर्पदंश तथा अन्य रोगको संक्रमण हुनसक्ने भएकाले घर आँगनसँगै सडक सरसफाइ गरिएको गाउँका बडघर रामकृष्ण चौधरीले बताए । “स्वस्थ हुनका लागि व्यक्ति सफा भएर मात्र हुँदैन । यसका लागि वरिपरिको वातावरण पनि सफा स्वच्छ हुनुपर्दछ”, बडघर चौधरीले भने, “एक व्यक्ति नभई गाउँ समाज पनि सफा हुनुपर्दछ भनी हामी गाउँ नै सफा राख्ने अभियानमा जुटेका हौँ । बर्सातमा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्छन् । त्यसबाट बच्नसमेत सहयोग पुग्छ ।”

स्थानीयवासीले पहिलो दिन तीन किलोमिटर सडक सरसफाइ गरेका छन् । बर्सातको समयमा झाडापखालाजन्य सरुवा रोगका प्रकोप हुन सक्ने भएकाले स्थानीय ८५ युवाको सहयोगमा सडक सरसफाइ भइरहेको स्वास्थ्य स्वयंसेविका जुगनीदेवी चौधरीले बताइन् । “अन्य समयभन्दा फोहोर पानी, खानपानमा ध्यान नदिँदा झाडापखाला, भाइरल ज्वरो जस्ता विभिन्न खाले रोग लाग्ने डर रहन्छ”, उनले भनिन्, “त्यसैले हामीले गाउँमा रहेका झाडी, पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ भनी सल्लाह ग¥यौँ । सबै सहमत भए, खेतीपाती सकेपछि गाउँमा सरसफाइ अभियान चलेको छ ।”

सडक सरसफाइ नियमित कार्य भएकाले यसको आगामी दिनमा पनि नियमित सरसफाइ गर्ने स्थानीयवासीको भनाइ छ । सरसफाइ घरमा मात्र गरेर स्वस्थ नहुने भएकाले गाउँ नै स्वच्छ र स्वस्थ राख्नका लागि गाउँलेहरुको संयुक्त सहयोगमा सरसफाइ गरिएको स्थानीयवासी रुपा चौधरीले बताइन् । “गाउँको विकास पूर्वाधार निर्माण, बाटोघाटो बनेर मात्र हुँदैन, गाउँ सफा पनि हुनुपर्छ”, रुपाले भनिन्, “स्वास्थ्य पहिलो प्राथमिकता रहेछ भन्ने कुरा समुदायमा कोरोना संक्रमण फैलिएपछि सबैले बुझेका छौँ । अब रहनसहन, खानपान र सरसफाइमा ध्यान दिनेबारे रहेक बैठक, छलफलमा कुरा उठ्न थालेको छ ।”

बडघरको नेतृत्वमा गाउँमा छलफल गरी आफ्नो गाउँ सफा राख्ने जिम्मा आफ्नै हो भनी स्थानीयवासीले सरसफाइ अभियान, बिग्रिएका सडक निर्माण जस्ता कार्यमा आफैँ जुट्ने समेत बताएका छन् ।

स्वास्थ्यकर्मीले समेत ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य जनचेतना जगाउने गरेका छन् । “हामीले हरेक आमा समूहको बैठक, गाउँघर क्लिनिक, खोप कार्यक्रममा सरसफाइसम्बन्धी छुट्टै ज्ञान दिने गरेका छौँ । बाँच्नका लागि सरसफाइको महत्वबारे ज्ञान दिने गरिएको छ”, धनसिंहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिंह सार्की भन्छन्, “नागरिक विस्तारै सचेत बन्दै गएका छन् । सफा वातावरणमा हुर्कने बच्चा र त्यो परिवार स्वस्थ हुन्छ । गाउँघरमात्र होइन घरमा खानेकुरा पनि सफा र स्वस्थ खानेबारे समेत सचेत हुन आवश्यक छ ।”