दाहालले भने– ‘अझै अहंकार र दम्भ हटेन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् । उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रूपमा चित्रित गरे । ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेस गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हर्कत गरेर जनतालाई धोका दिएको आक्षेप लगाए ।

‘तपाईंमा गल्ती सच्याउने तत्परता छैन, यो दस्ताबेजमा पनि अहंकार र दम्भ छ,’ दाहालले बैठकमा भने, ‘मिल्न खोजेजस्तो छैन ।’ दाहालले गत वर्ष केन्द्रीय कमिटी बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका व्यक्तिहरू बसेर एमाले ब्युँत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाए ।

ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा नेताहरूबीच छलफल हुने भएको छ । नेकपा सचिवालयको बैठक आउँदो १६ गतेका लागि बोलाइएको छ । उक्त बैठकपछि दुवैका दस्ताबेजलाई कसरी अघि बढाइन्छ, त्यसैमा नेकपाको भविष्य निर्धारण हुनेछ । धेरै नेताहरूले दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर दुवै सच्चिने गरी पार्टी एकतालाई जोगाइराख्नुपर्ने दबाब दिएका छन् । यो खबर आजको कान्तिपुरमा रहेको छ ।