प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना मुद्दा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि ‘अदालतको अवहेलना’ मा कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले आइतबार सर्वोच्च अदालतमा निवेदन पेस गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता भएको आफूहरूलाई सूचित गरेको निवेदकमध्येका एक अधिवक्ता ओलीले बताए । सर्वोच्च अदालत प्रशासनले भने आइतबार कुनै अवहेलनाको निवेदन दर्ता नभएको जनाएको छ । स्रोतका अनुसार, निवेदनमा प्रधानमन्त्री ओलीलाई नै विपक्षी बनाइएकामा सरकारी पक्षले असन्तुष्टि जनाएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भए उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा उनीहरूले अवहेलना निवेदन पेस गरेका हुन् ।
सर्वोच्चले गत असोज २७ गते कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनै पनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’ को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो । त्यही विषयमा निवेदन दिने दुई कानुन व्यवसायीले आइतबार सर्वोच्चमा अवहेलनाको निवेदन दर्ता गरेका हुन् । मन्त्रिपरिषद्बाट निर्णय भएकाले प्रधानमन्त्री ओलीलाई विपक्षी बनाइएको निवेदनमा उल्लेख छ । निवेदनमा कोरोना संक्रमणसँग सम्बन्धित सबै सेवा निःशुल्क हुनुपर्ने भन्ने यसअघिको फैसला कार्यान्वयन हुनुपर्ने भनी माग पनि गरिएको छ ।
आदेश सार्वजनिक भएको ५ दिनपछि सरकारले गरिब, असहायलगायतका वर्गबाहेकको हकमा परीक्षण र उपचारमा शुल्क लाग्ने निर्णय गर्यो । स्वास्थ्य मन्त्रालयले कात्तिक २ गते गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले सबैका हकमा निःशुल्क उपचार नहुने बताएका थिए । त्यसको चौतर्फी आलोचनापछि सरकारले शुल्क तिर्न नसक्ने स्वघोषणा गरे निःशुल्क उपचार हुने भनी अभिव्यक्ति परिमार्जन गरेको थियो । तर यो अवधिमा धुलिखेल, टेकु, निजामतीलगायत अस्पतालले बिरामी र शुल्कको वर्गीकरण गरेर सूचना जारी गरिरहेका छन् । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले उपचारमा धरौटी नमाग्नू भनी अस्पतालहरूलाई परिपत्र गरेको छ ।
संविधानमा आदेशरफैसलाको अवज्ञा भए वा न्यायसम्पादनमा अवरोध भए अदालतको अवहेलनाको आरोपमा कारबाही हुने व्यवस्था छ । न्याय प्रशासन ऐनमा अवहेलनाको आरोप प्रमाणित भए एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । सरकारी पक्षले भने सर्वोच्चको फैसला कार्यान्वयन नै हुन कठिन रहेको भन्दै त्यसविरुद्ध फैसलाकै पुनरावलोकन हुनुपर्ने भनी निवेदन दर्ता गरेको थियो । निवेदनमा कोरोना संक्रमणसँग सम्बन्धित सबै सेवा निःशुल्क हुनुपर्ने भन्ने यसअघिको फैसला कार्यान्वयन हुनुपर्ने भनी माग छ ।यो खबर आजको कान्तिपुर दैनिकमा रहेको छ ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया