प्रदेश ५ को राजधानी विवाद: संयुक्त संघर्ष समितीको बन्द स्थगन

काठमाडौं-प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्तावको विरुद्धमा संयुक्त संघर्ष समितिले आह्वान गरेको साबिकको लुम्बिनी अञ्चल बन्द स्थगन गरिएको छ ।

समितिले सोमबार बिहान ९ बजे प्रदेश सभा घेराउको कार्यक्रममा सहभागी हुन आउनेका लागि यातायात खुला गरिएको जनाएको छ ।

समितिका संयोजक खिमबहादुर हमालले सार्वजनिक सवारी साधन संचालन गर्न र प्रदेशसभा घेराउ गर्ने कार्यक्रममा सहभागी हुन आउनेका लागि सहज वातावरण बनाएको जानकारी दिए ।

उनले धेरैभन्दा धेरै जनताको उपस्थिति गराएर प्रदेशसभामा सांसदहरुलाई आउन नदिने बताए । प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने प्रस्तावका विरुद्ध साबिक लुम्बिनी अञ्चल क्षेत्रमा आन्दोलन जारी छ ।

संघर्ष समिति र कांग्रेसले प्रदेश सभा घेराउको कार्यक्रम आयोजना गरेका हुन् । प्रदेश सभा घेराउ गरेर सांसदलाई प्रदेश सभा भवन प्रवेशमा रोक्ने उनीहरुले जनाएका छन् । प्रदेश ५ को प्रदेश सभामा सरकारले पेश गरेको प्रस्तावमाथि सोमवार छलफल शुरु हुंदैछ ।