धानको बालामा दाना नलागेपछि निजगढका किसान मर्कामा

बारा-निजगढका किसानले धानको बालामा दाना नलागेपछि नगरपालिका कार्यालय गुहारेका छन् ।

यस क्षेत्रको करिब ६ बिघा जग्गामा लगाइएको धानमा बाला लागे पनि दाना भने लागेको छैन ।

किसानले धानमा दाना नलागेपछि धानको सुकेको बालासहितको गाँज बोकर नगरपालिका पुगेका हुन् ।

उनीहरु घाममा दुई किलोमिटर पैदल हिँडेर नगरपालिका कार्यालय पुगेका थिए ।

नगरपालिकाको कृषि शाखामा पुगेर किसानले निवेदन समेत दिएको निजगढ नगरपालिका–८ खैरघारीका किसान रामप्रसाद ओझाले बताए ।

बीउ वितरकले प्रतिकठ्ठा ५/६ मन (४० किलोको एक मन) सम्म फल्छ भनेर दिएको धानमा अहिले बाला निस्किए पनि दाना नलाएपछि किसान चिन्तित भएका छन् ।

‘पाँच बिघामा लगाएको धानको बालामा दाना लागेको छैन, सुकेर पगटो मात्र छ,’ उनले भने, ‘पटक पटक विषादी र महँगोमा मलखाद समेत हालें ।

लकडाउनले आर्थिक संकटमा परेको समयमा गरेको लगानी समेत डुब्यो। यसको जिम्मा कसले लिन्छ?’