तरल नाइट्रोजन प्लान्ट निर्माण गर्दै कर्णाली सरकार

काठमाडाैँ। कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तर्गत तरल नाइट्रोजन प्लान्ट निर्माण प्रक्रियामा लागेको हो । प्लान्ट निर्माणका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो ।

“प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ”, मन्त्री शर्माले भन्नुभयो, “अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौं र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदरुकता दिन्छौँ ।”

सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट गएको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री कैलाश चौधरीसँग तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वय सहकार्यका लागि सिकाइ तथा व्यावहारिक अभ्यासबारे छलफल गरेको थियो ।