पाल्पामा पहिरोले बगायो घर : ५ बेपत्ता मध्ये २ महिलाको शव पर्यो फेला

पाल्पामा पहिरोले घर बगाउदा बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शव फेला परेको छ ।

बिगतका केही दिनदेखि भएको भारी वर्षाका कारण बिहिबार बिहान रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता हुनेमा ६३ वर्षीय हुम बहादुर गाहा, ४७ वर्षीय श्रीमती धनी सरा, १६ वर्षीय छोरी कृष्णामाया गाहा, १४ वर्षीय नातिनी खुमिसरा आले र ७ वर्षीय नातिनी लक्ष्मी गाहा रहेका थिए ।

बेपत्ता भएका ५ जना मध्ये आज दिउँसो दुई महिलाको शब भेटिएको छ ।

बिहीबार झरी र पहिरो निरन्तर गइरहेकाले आज विहानबाट मात्रै खोजी कार्य शुरु भएको हो ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दिनुभएको जानकारी अनुसार सुरक्षा निकाय, स्थानीयको सहायोगमा अहिले पनि बेपत्ताहरुको खोजी गर्ने क्रम जारी छ ।

साथै बिहीबार नै पहिरोले घर पुरिदा सोही वडामा बसोबास गर्ने २७ वर्षीय मोतीसरा गाहाले पनि आफ्नो ज्यान गुमाएकी थिइन ।