कोशी प्रदेशमा नयाँ सरकार बन्न अन्यौलपूर्ण

काठमाण्डौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएसँगै नयाँ सरकार गठन अन्यौलपूर्ण बनेको छ ।

सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन् । यद्यपी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । तर कार्कीको पक्षमा जम्मा ४६ मत खसेको थियो। एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए। उनको विपक्षमा ४३ मत खसेको थियो ।

विपक्षी गठबन्धनका नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १२ सभामुख बाहेक, नेकपा एकिकृत समाजवादीको ४ जना सांसदहरु रहेका छन्। जनता समाजवादी पार्टी प्रदेशको नामाकरण बारे असहमति जनाउँदै तटस्थ बस्ने निर्णय गरेको छ ।

नयाँ सरकार गठनका लागि कुनै पनि दलसँग स्पष्ट ४७ सांसद नरहेका कारण कुनै पनि सरकारले विश्वासको मत पाउने अवस्था छैन। अर्को सरकार गठन भईहाले पनि ३० दिन भित्र विश्वासको मत नपाउने भएकाले मध्यावधि जानुको विकल्प छैन।