कोशी प्रदेश नामकरणको विषयमा झडप हुँदा १० जना प्रहरीसहित २२ जना घाइते

काठमाडौँ। कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते भएका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते हुन्। करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । गोली चलेजस्तो आवाज सुनेपछि दमक बजार क्षेत्र साँझमा नै बन्द भएको थियो ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइजना आन्दोलनकारी गम्भिर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताए । आन्दोलनमा उत्रिएका आफ्ना थप अन्य १० जना घाइते भएको पनि उनले दाबी गरे ।

गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो घाइते बन्नु भएको उहाँले जानकारी दिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ ।

घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।