१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बारा - अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिका-२ तेलकुवा टोल बस्ने ४५ वर्षीय  हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०६४ असोज १८ गते बारा साबिक उम्जन गाविस अन्तर्गत पिप्रा बसतपुरबाट साबिक इनर्वासिरा गाबिस-८ बस्ने पत्रकार बीरेन्द्र साहलाई निज कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी गोली हानी हत्या गरेपछि साबिक डुमरवाना गाविस-७ स्थित जंगलमा खाल्डो खनेर गाडेको शव २०६४ कात्तिक २२ गते फेला परेको कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेका कुर्मी हालसम्म फरार रहेका थिए ।   

पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मी विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कुर्मीलाई कोल्हवी नगरपालिका-४ सपही टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा रहेको   थियो ।

कुर्मीलाई आवश्यक अनुसन्धान प्रकृया पुर्‍याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको   छ ।

साथै घटनामा संलग्न बारा साबिक ईनर्वासिरा गाबिस-९ बस्ने प्रतिवादी मनेजर गिरीलाई २०६५ असोज १९ गते र साबिक खोपवा गाबिस-८ बस्ने प्रतिवादी राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा पेश गरिएकोमा उनीहरूलाई सर्वस्वसहित जन्म कैद फैसला भएको थियो ।

यसैगरी बारा साबिक गडहल गाबिस-५ बस्ने कुन्दन कुमार फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ गरी जिल्ला अदालत बारामा पेश गरिएकोमा फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।