स्वतन्त्र विद्यार्थी युनियनको मतदान सकियाे,कतै उत्साह, कतै निराश

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मतदान सकिएको छ । 

बिहान ८ बजेबाट मतदान शुरु भएको मतदान भर्खर सकिएकाे हाे। राजधानीका शंकरदेव, सरस्वती, नेपाल ल क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताचहल,  त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिकयुथ लगायत क्याम्पसहरुमा मतदान भएकाे थियाे।६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भयाे।प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन वि.सं. २०६५ सालदेखि नियमित हुन सकेको थिएन ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार सबैभन्दा बढी मत बागबजारस्थित शंकरदेव क्याम्पसमा ३१७७ खसेको छ । त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा २४५० र केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०७६ मत खसेको छ ।त्यस्तै महेन्द्ररत्न क्याम्पस ताहाचलमा ८७८ मत खसेको छ भने नेपाल ल क्याम्पसमा १२६६ मत खसेको छ । ललितकला क्याम्पसमा ३०८ मत खसेको छ । थापाथलीमा १५५० भोट खसेको छ ।  विद्युतीय भोटिङ मेसिन प्रयोग भएका त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसको मत परिणाम आजै साँझ आइसक्ने बताइएको छ ।

निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु भएकाे थियाे । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएकाे थियाे । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको थियाे ।

पश्चिम क्षेत्रकै ठूलो र पुरानो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा मतदान शान्तिपूर्वक भएको छ । बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु चुनावअन्तर्गत मतदान भएको हो। त्रिवि केन्द्रीय क्याम्पसमा भने स्ववियु चुनावको उत्साह देखिएन।विद्यार्थीहरुले चुनावमा उत्साह नदेख्नुको कारण थियो, एक घन्टामै खाली भएको मतदाताको लाइन। मतदानस्थल (शिक्षा केन्द्रिय विभाग) अगाडी मतदान सुरु हुनअघि भिडभाड देखिए पनि मतदान सुरु भएको केही समयपछि सहभागी संगठन सम्बद्ध भन्दा बाहेकका मतदाता विद्यार्थीको संख्या कम देखिन्थ्यो ।

स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने उपाध्यक्ष तथा सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिनेछन् ।