अमेरिका–इरान ‘शान्ति सम्झौता’ घोषणा, होर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा गरेका छन् । उनले होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको महसुलरहित आवतजावत सुरु हुने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ भएको र त्यो ‘अहिले लागु भइसकेको’ बताएका छन् । यस सम्झौताको हस्ताक्षर समारोह आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको उनले बताए ।
आइतबार इरानका उप–परराष्ट्रमन्त्रीले समेत पुष्टि गरेको उक्त सम्झौताले अमेरिका र इरानबीचको शत्रुतालाई तत्काल अन्त्य गर्ने बताइएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, “इरानसँगको सम्झौता अब पूरा भएको छ । सबैलाई बधाई ! म यसद्वारा होर्मुज जलमार्गलाई महसुलरहित रूपमा खोल्ने पूर्ण अनुमति दिन्छु । यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन आदेश दिन्छु । विश्वका जहाजहरू, आफ्ना इन्जिनहरू सुरु गर । तेललाई बग्न देऊ !”
उनले अर्को पोस्टमा यो सम्झौताले मध्यपूर्वमा शान्ति र स्थिरता ल्याउने तथा इरानसँग थप शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले भने, “धेरै अमेरिकी राष्ट्रपतिहरूले इरानसँग शान्ति स्थापना गर्ने प्रयास गरे । तर, मभन्दा अघि सबै असफल भए । यस क्षेत्रका नेताहरूले पहिलोपटक यस्तो राष्ट्रपति पाएका छन्, जसले उनीहरूलाई वास्तविक शान्ति प्राप्त गर्न मद्दत गर्न सक्छ ।”
उनका अनुसार शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै बारुदी सुरुङ हटाउने कार्य सुरु हुनेछ । होर्मुज जलमार्ग पूर्ण रूपमा खुल्नेछ, जसले विश्व ऊर्जा आपूर्तिलाई पुनः सहज बनाउनेछ ।
ट्रम्पको यो घोषणा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिका र इरानबीच लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सम्झौता भएको जानकारी दिएपछि आएको हो ।
सरिफले लेखेका छन्, “गहन वार्तापछि अमेरिका र इस्लामिक रिपब्लिक अफ इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति गरेका छन् ।”
उनले कतारको नेतृत्वलाई मध्यस्थता र कूटनीतिक प्रयासमा दिएको सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।
कतारको विदेश मन्त्रालयले पनि उक्त सम्झौताको स्वागत गर्दै यसले होर्मुज जलमार्गमा नौसञ्चालनको स्वतन्त्रता सुनिश्चित गर्न तथा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा स्थायी शान्ति र आर्थिक स्थायित्व प्रवद्र्धन गर्न मद्दत गर्ने जनाएको छ ।
बेलायती प्रधानमन्त्री कियर स्टारमरले अमेरिका–इरानबीचको प्राविधिक वार्तामा सहयोग गर्न आफू तयार रहेको बताएका छन् । उनले होर्मुज जलमार्ग पुनः खुल्दा विश्व ऊर्जा बजारमा स्थिरता आउने अपेक्षा व्यक्त गरेका छन् ।
यस्तै, फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले पनि सम्झौताको स्वागत गर्दै सबै पक्षलाई यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो सम्झौताले मध्यपूर्वमा नयाँ युगको सुरुआत गर्न सक्ने बताएका छन् ।
ब्राजिलमा दुई हेलिकोप्टर आकाशमा ठोक्किँदा ६ जनाको मृत्यु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
विश्लेषक अर्जुन प्रसाईको विवादास्पद टिप्पणी, ओलीमाथि बालेन शाहलाई धम्क्याउने शै…
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
एमालेभित्र नेतृत्व विवाद चर्कियो, ८० प्रतिशत नेताको निष्कर्ष– ‘यही नेतृत्वमा पा…
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
प्रतिक्रिया