हेलिकोप्टर खसालेको आरोपपछि अमेरिकाद्वारा इरानमाथि आक्रमण

काठमाडौं । हेलिकोप्टर खसालेको आरोपपछि अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमाथि इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकी सेनाले उक्त घटनाको जवाफस्वरूप इरानमाथि आक्रमण सुरु गरेको बताएका छन् । 

 

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप मंगलबार आक्रमण सुरु गरिएको हो ।

 

सेन्टकमले विज्ञप्तिमा भनेको छ, “यो मिसन इरानको अनुचित आक्रामकताविरुद्ध गरिएको एक प्रतिक्रिया हो ।”

 

पर्सियन गल्फको तटीय क्षेत्र तथा स्ट्रेट अफ होर्मुज आसपासका क्षेत्रमा विस्फोट भएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।

 

दुर्घटनाग्रस्त अमेरिकी ‘अपाचे हेलिकोप्टर’का दुई चालक दलका सदस्यलाई एक अमेरिकी ‘सी ड्रोन’ले सुरक्षित रूपमा उद्धार गरेको सेन्टकमले जनाएको छ ।

“त्यहाँ दुईजना पाइलट संलग्न थिए । दुवैजना सुरक्षित छन्,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “तैपनि, अमेरिकाले आवश्यकताअनुसार यस आक्रमणको जवाफ दिनैपर्छ ।”

अमेरिकी अधिकारीहरूका अनुसार इरानले उक्त आक्रमण गर्न ड्रोनको प्रयोग गरेको थियो । तर, इरानी ड्रोनले जानाजानी हेलिकोप्टरलाई निशाना बनाएको हो वा होइन भन्ने स्पष्ट नभएको ‘सीबीएस न्युज’लाई एक अमेरिकी अधिकारीले बताएका छन् ।

घटनाको केही घण्टापछि सेन्टकमले जवाफी कारबाहीस्वरूप अमेरिकाले इरानमा आक्रमण गरेको घोषणा गरेको थियो ।

अमेरिकी समाचार वेबसाइट ‘एक्सिओस’का अनुसार यो नयाँ आक्रमण इरानको रक्षा तथा राडार प्रणालीलाई लक्षित गरेर गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केसम र सिरिकलगायत पर्सियन गल्फको तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताएका छन् ।

यस घटनापछि इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले  अमेरिकालाई चेतावनी दिँदै आफ्नो देशले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई नछाड्ने बताएका छन् ।

उनले एक्समा लेखेका छन्, “युद्धको मैदानमा पराजय व्यहोरेका बाबजुद अमेरिकाले हाम्रो दृढताको परीक्षा लिने विकल्प रोजेको छ ।”