जवाहरलाल नेहरूको कीर्तिमान तोड्दै छन् मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जुन १० मा भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बन्दै छन् । यो मामिलामा उनले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमानलाई उछिन्न लागेका हुन् ।

सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका मोदीले जुन १० मा पदमा निरन्तर चार हजार ३९९ दिन पूरा गर्नेछन् । त्योसँगै उनले नेहरूको चार हजार ३९८ दिनको कीर्तिमानलाई पछि पार्नेछन् ।

नेहरूको उक्त कार्यकाल भारतको पहिलो आमनिर्वाचनपश्चात् सन् १९५२ मे १३ मा प्रधानमन्त्रीका रूपमा शपथ लिएदेखि १९६४ मे २७ मा उनको निधन हुनुअघिसम्मको अवधिको हो ।

यसलाई मोदीको राजनीतिक जीवनको अर्को ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । यसअघि नै उनले सन् २०२५ जुलाई २५ मा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको सबैभन्दा लामो अविच्छिन्न कार्यकालको कीर्तिमानलाई उछिनेका थिए । गान्धी सन् १९६६ जनवरी २४ देखि १९७७ मार्च २४ सम्म लगातार चार हजार ७७ दिन प्रधानमन्त्री पदमा रहेकी थिइन् ।

यो नयाँ कीर्तिमान भारतमा दशकौँको अवधिमा आएको व्यापक राजनीतिक र सामाजिक परिवर्तनको पृष्ठभूमिमा स्थापित हुन लागेको हो । स्वतन्त्रताको प्रारम्भिक वर्षहरूमा नेहरूले देशको नेतृत्व गर्दा भारतको जनसंख्या करिब ३४ करोड थियो । २०१४ मा मोदीले कार्यभार सम्हाल्दासम्म जनसंख्या १३१ करोड नाघिसकेको थियो । हाल बढेर भारतको जनसंख्या १४६ करोडभन्दा बढी पुगेको छ ।

विगतका दशकमा भारतीय लोकतन्त्रको दायरा पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । सन् १९५१–५२ मा सम्पन्न पहिलो आमनिर्वाचनमा ५३ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । २०१४ मा यो संख्या बढेर ४६४ पुगेको थियो । सन् २०२४ को लोकसभा निर्वाचनमा ७४४ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए ।

पहिलो आमनिर्वाचनमा करिब १७ करोड मतदाता थिए । २०१४ सम्म आइपुग्दा मतदाताको संख्या ८३ करोडभन्दा बढी पुगेको थियो ।

यी दुई कालखण्डका राजनीतिक परिस्थिति पनि निकै फरक थिए । नेहरूले कांग्रेसको वर्चस्व रहेको राजनीतिक परिदृश्यको नेतृत्व गरेका थिए । सन् १९५२ को निर्वाचनमा कांग्रेसले लोकसभाका ४८९ मध्ये ३६४ सिट जितेको थियो । यसको विपरीत मोदीले बलिया क्षेत्रीय दलहरू र विभिन्न राज्यमा गठबन्धनको जटिल समीकरणले भरिएको अत्यन्त प्रतिस्पर्धी राजनीतिक वातावरणमा शासन गरिरहेका छन् ।

मोदी लगातार दुईपटक पूर्ण बहुमत प्राप्त सरकारको कार्यकाल पूरा गर्ने पहिलो गैरकांग्रेसी प्रधानमन्त्री हुन् । उनी नेहरूपछि बहालवाला प्रधानमन्त्रीका रूपमा लगातार तीनपल्ट लोकसभा निर्वाचन जित्ने पहिलो नेता पनि हुन् ।

उनको कार्यकालमा भारतले उच्च शिक्षा र स्वास्थ्य क्षेत्रका संस्थामा उल्लेखनीय विस्तार गरेको छ । सन् २०१४ देखि २०२६ सम्म आईआईटीको संख्या १६ बाट बढेर २३, आईआईएमको १३ बाट २३ र एम्स संस्थाहरूको संख्या सातबाट २३ पुगेको छ ।

सुशासन र सञ्चारको वातावरणमा पनि ठूलो परिवर्तन आएको छ । नेहरूले निजी टेलिभिजन च्यानल, सामाजिक सञ्जाल वा तत्काल डिजिटल सञ्चार नभएको युगमा शासन गरेका थिए । मोदीको कार्यकाल भने २४ घण्टा नै सक्रिय टेलिभिजन नेटवर्क, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ताको निरन्तर निगरानी तथा प्रतिक्रियाबीच अघि बढिरहेको छ ।

यो नयाँ कोसेढुंगाले मोदीको सार्वजनिक जीवनमा स्थापित दीर्घकालीन सेवासम्बन्धी कीर्तिमानको सूचीमा अर्को उपलब्धि थप्नेछ । यसै वर्षको सुरुमा गुजरातका मुख्यमन्त्री र भारतका प्रधानमन्त्रीका रूपमा संयुक्त कार्यकाल आठ हजार ९३० दिन नाघेपछि उनी देशको इतिहासमै सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित सरकार प्रमुख बनेका थिए ।

जुन १० मा चार हजार ३९९ दिनको आँकडा पार गरेसँगै मोदीले औपचारिक रूपमा भारतको इतिहासमा ६ दशकभन्दा बढी समयदेखि कायम रहेको कीर्तिमान तोड्नेछन् । र, सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बन्नेछन् ।