सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्नुभएको छ ।
 
    उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुग्नुभएका उहाँहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गर्नुभएको हो ।
 
    त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी हुनुहुन्थ्यो ।
 
        उहाँहरुले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गर्नुभएको सभामुख अर्यालको स्वकीय सचिवालयले जनाएको छ ।
 
        सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँहरुले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकासँग छलफल गर्नुभयो ।