प्रधानमन्त्रीले रोपेको विवादको बिउ, रविको भ्रमणले धकेलियो संसद्
काठमाडौं । सदनमा लामो समय खोजी हुँदा प्रधानमन्त्री बालेन्द्र शाह चुपचाप बसे । अकस्मात् जेठ १७ गते झुल्किए ।
सँगै उनले विवादको बिउ रोपिदिए । रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमा विवादबारे दिएको अभिव्यक्तिले तरंग पैदा गरेको छ ।
सदन सुरु हुनासाथ (जेठ १७) गते प्रधानमन्त्रीले हात उठाउँदै सांसदका प्रश्न सुन्न चाहे । संसदीय अभ्यासमा प्रधानमन्त्रीले त्यसरी हात उठाउँदै समय मागेको सम्भवतः पहिलो घटना हो । आफ्नै नीति तथा कार्यक्रममा ‘बंक’ हानेका प्रधानमन्त्रीको सदनमा देखिएको त्यो शैली ‘सरप्राइज’ थियो ।
प्रधानमन्त्रीको चाहनाअनुरूप प्रतिनिधिसभा नियमावलीका प्रावधान मिचेर प्रश्नोत्तर कार्यक्रम चल्यो । सभामुख डोलप्रसाद अर्यालले दलीय आधारमा एक जनालाई २ मिनेटमा प्रश्न सोध्न समय दिए ।
सीमा विवादबारेको प्रश्नमा शाहले भने, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।”
त्यसमा प्रष्टीकरणका निम्ति रुलिङको माग गर्न विपक्षी बाध्य भए । तथापि आइतबारको बैठक सभामुखले पेलेरै अघि बढाए । प्रतिनिधिसभा नियमावली जर्बजस्ती पारित गर्न खोज्दा सदन तनावमा परेकोे थियो ।
सत्तारूढ र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भयो । सभामुखको कुर्सीमा पुग्ने प्रयास विपक्षी सांसदले गरे । र, सभामुख कुसनले बेरिँदै सदन चलाए । प्रतिनिधिसभा नियमावली बहुमतबाट पारित भयो । आइतबार रातिसम्म पटक–पटक बैठक अवरोधबीच चल्यो ।
विपक्षी सोमबार प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एकढिक्का भए । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको हुँदा सदनमा प्रमाण पेश गर्नुपर्ने, उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने मागमा एकमत भए ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठकले प्रधानमन्त्रीले सदनमा माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष निकाल्यो । त्यहीअनुसार सोमबार सदन चल्न दिएनन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता र माफीकै अडान कायम राख्दा मंगलबार पनि प्रतिनिधिसभा बैठक अघि बढ्न सकेन ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल आफूहरूका कारण संसद् अवरोध नभएको बताउँछन् । “हामीले सदन रोकेका होइनौं । हामीले प्रधानमन्त्री खोजिरहेका थियौं । उहाँले सदनमा सदनमा जे बोल्नुभयो, त्यसैको परिणाम हो,” उनी भन्छन् ।
दुललाले उच्चस्तरीय राजनीतिक संवादबाट त्यसको समाधान दिन आग्रह गरे । “साउन १ गतेबाट लागु हुने नयाँ आर्थिक वर्षको बजेटभन्दा देशको सिमानाबारेमा प्रधानमन्त्रीज्यूले बोल्नुभएको विषय संवेदनशील भएकाले उच्चस्तरीय राजनीतिक छलफल, बहस, सभामुखको पहलबाट यसको समाधान अविलम्ब होस्,” उनले भने ।
राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले पनि पनि उच्चस्तरमा छलफल गर्न सुझाव दिइन् ।
सभामुख अर्यालले अर्को बैठक जेठ २५ गतेका लागि तोकेका छन् । जसले बजेटमाथिको छलफल धकेलिएको छ । आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि जेठ १८, १९ र २० गतेको समय तोकिएको थियो ।
विपक्षीले खोजे रास्वपाको धारणा
प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेता हुन् । सभापति लामिछानेको टोली सोमबार भारत भ्रमण प्रस्थान गर्यो । भारत भ्रमण जानुअघि सभापति लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलेनन् । त्यसपछि सदनमा पनि रास्वपाले कुनै धारणा राखेको छैन ।
रास्वपाका मुख्यसचेतक कबिन्द्र बुर्लाकोटीले बिहान मात्रै विपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, छलफलमा विपक्षीले रास्वपाको धारणा माग गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राखे । रास्वपाले कुनै जवाफ दिएन ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियार प्रधानमन्त्रीले जनभावना अनुसार सम्बोधन गर्ने बताउँछन् । “प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी प्रस्तुत गर्नुहुन्छ । जनभावना सम्बोधन गर्नुुहुन्छ । नियत खराब छैन,” परियार भन्छन्, “यति धेरै आवाज उठिसकेपछि प्रधानमन्त्रीले सुझबुझ पुर्याउनुहुन्छ ।”
रवि लामिछानेको पर्खाइ
भारतमा भव्य स्वागत पाइरहेका रास्वपा सभापति लामिछानेको पर्खाइमा सदन धकेलिएको हो । लामिछानेको टोली जेठ २२ गते फर्कने कार्यक्रम छ । विपक्षीहरूले पनि रास्वपाको तल्लो तहबाट समस्याको समाधान ननिस्किने भन्दै केही दिन बैठक रोक्न सुझाएका थिए ।
“रास्वपाले यसको समाधान दिनुपर्छ । प्रधानमन्त्रीको अभिव्यक्तिमा तपाईंहरूको धारणा के हो ? बरु सदन केही दिन स्थगित गरौं । तपाईंहरूको पार्टीको धारणा पनि आओस्,” विपक्षीको सुझाव छ, “उच्चस्तरीय राजनीतिक संवाद पनि होस् । विज्ञहरूसँग पनि छलफल गर्नुस् । हामीले सदन अवरोध चाहेका छैनौं । दीर्घकालीन समस्याको समाधान खोजौं ।”
प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको बचाऊमा लागेका कार्यकर्ताको भन्दा पनि यथार्थ कुरामा ध्यान दिन विपक्षीले सुझाव दिए । यो समयमा प्रधानमन्त्रीको बोलीको प्रभाव पनि केही मत्थर हुने र तयारी गर्न पनि समय पाइने भएकाले सदन पछि धकेलिएको रास्वपाका एक सांसद बताउँछन् ।
“संसद्मा आकस्मिक, शून्य समय पनि चलाउने नदिने रणनीतिमा विपक्षी देखिएपछि सदन चलाइरहनुको अर्थ भएन,” रास्वपाका एक सांसद् भन्छन्, “विपक्षीबाट पनि बरु केही दिन सदन रोक्यौं भन्ने कुरा आयो । यो समयमा हामीले पनि आन्तरिक तयारी गर्न पाउँछौंं भनेर सदन धकेलिएको हो ।”
पार्टी सभापति नफर्किदा समस्याको समाधान गर्न नसकिने निष्कर्षमा पुगिएको नेताहरू बताउँछन् ।
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीक…
उत्तर कोरियाको आणविक दौड तीव्र
इनरुवामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
अस्ट्रेलियामा आप्रवासी श्रमिकमाथि चरम आर्थिक शोषण हुने गरेको खुलासा
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
प्रतिक्रिया