रास्वपाल सार्वजनिक गर्यो रवि लामिछानेको भारत भ्रमणको तालिका 8 घन्टा एजी उच्चस्तरीय भेटघाट गर्ने

जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी सार्वजनिक गरेको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ।

रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको जनाएको हो।

पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टी शुभेच्छुकहरूसँग पनि भेट गर्नेछन्।

रास्वपाले व्यक्तिगत भ्रमणका रूपमा अयोध्या भ्रमण पनि कार्यक्रमभित्र समावेश गरिएको जनाएको छ।

लामिछानेसँगै भारत जाने प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहने उल्लेख गरिएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका उच्चस्तरीय कार्यक्रमहरू व्यवस्थापन र समन्वयमा सहयोग गरिरहेको पनि रास्वपाले जनाएको छ।

यसअघि भाजपाले जारी गरेको विज्ञप्तिमा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने उल्लेख गरिएको थियो। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेका अनुसार भ्रमणको उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–टु–पार्टी सहकार्य सुरू गर्नु हो।

विज्ञप्तिमा संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको पनि उल्लेख छ।

यद्यपि दुवै दलको आधिकारिक विज्ञप्तिमा समावेश नगरिए पनि स्रोतका अनुसार रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री Narendra Modi र विदेशमन्त्री S. Jaishankar सँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको छ। यद्यपि भेटको समय भने अझै तय नभएको बताइएको छ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएको तथा नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण टुंगो नलागेको पृष्ठभूमिमा सत्तारूढ दलका सभापतिको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि फागुन २१ को निर्वाचनपछि रास्वपाले ठूलो सफलता हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई फोनमार्फत बधाई दिएका थिए। त्यही क्रममा भारत भ्रमणबारे प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ।