वार्ता असफल भए इरानमाथि पुनः आक्रमण हुन्छ : अमेरिकी उपराष्ट्रपति

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफूहरू इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान खोज्ने प्रयासमा रहेको बताएका छन् । तर, आणविक वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको चेतावनी पनि उनले दिए ।

मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताए । भान्सले सहमति हुन दुवै पक्ष तयार हुनुपर्ने बताए । इरानलाई आणविक हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतामा अमेरिका सहमत नहुने उनको भनाइ छ ।

भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिका लक्ड एन्ड लोडेड अर्थात् पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए । भान्सले अमेरिकाले त्यो बाटो रोज्न नचाहे पनि आवश्यक परे सैन्य कदम चाल्न इच्छुक र सक्षम रहेको चेतावनी दिए ।

हाल कूटनीतिक सहमतिमार्फत समाधान वा पुनः सैन्य अभियान गरी दुईवटा सम्भावित विकल्प देखिरहेको उनको भनाइ छ । इरान सम्झौता गर्न इच्छुक देखिएको दाबी गर्दै अमेरिकी राष्ट्रपतिले सद्भावका साथ वार्ता गर्न निर्देशन दिएको र त्यसअनुसार नै छलफल भइरहेको उनको दाबी छ । इरानको आणविक कार्यक्रमसम्बन्धी अमेरिकी मुख्य मागमा सम्झौता नहुने उनले बताए ।

भान्सले इरानसँगको सम्भावित द्वन्द्वलाई अन्तहीन युद्ध मा परिणत गरिने आशंका पनि अस्वीकार गरे । उनले यो कहिल्यै नसकिने युद्ध नहुने र अमेरिका आवश्यक काम पूरा गरेर फर्किने बताए । वासिङ्टनको मुख्य उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको दोहोर्‍याए । अमेरिकाले आणविक हतियार भएका देशहरूको संख्या सीमित राख्न चाहने उनको भनाइ छ ।