भारतलाई अपाचे हेलिकप्टर र एम७७७ तोप बेच्न अमेरिकाको स्वीकृति
भारत र अमेरिकाबीचको रक्षा सहयोग थप सुदृढ बन्दै गएको छ । यसै क्रममा अमेरिकाले भारतलाई अपाचे हेलिकप्टर र एम७७७एटू अल्ट्रा–लाइट हाउविट्जर तोपका लागि समर्थन सेवा तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले आधिकारिक रूपमा यस निर्णयको घोषणा गरेको हो ।
अमेरिकाका अनुसार अपाचे हेलिकप्टरका लागि समर्थन सेवा सम्झौताको अनुमानित मूल्य करिब १९ करोड ८२ लाख अमेरिकी डलर रहेको छ । एम७७७एटू अल्ट्रा–लाइट हाउविट्जरका लागि दीर्घकालीन समर्थन सम्झौता करिब २३ करोड अमेरिकी डलर बराबरको हुन सक्ने बताइएको छ ।
अपाचे हेलिकप्टर समर्थन सम्झौताका लागि बोइङ र लकहिड मार्टिन प्रमुख कम्पनी रहनेछन् । यस्तै, ब्रिटिश रक्षा कम्पनी बीएई सिस्टम्सलाई एम७७७ हाउविट्जर समर्थन कार्यक्रमको मुख्य ठेकेदार तोकिएको छ ।
भारतले के पाउँछ ?
अमेरिकी विदेश मन्त्रालयका अनुसार भारतले एएच–६४ई अपाचे हेलिकप्टरका लागि इन्जिनियरिङ, प्राविधिक तथा रसद समर्थन सेवाको अनुरोध गरेको थियो । सम्झौतामा प्राविधिक तथ्याङ्क, प्रकाशन, सैन्य तालिम तथा अन्य कार्यक्रम समर्थन पनि समावेश रहनेछ ।
एम७७७एटू हाउविट्जरका लागि स्पेयर पार्ट्स, मर्मत, तालिम, प्राविधिक सहयोग, फिल्ड सेवा प्रतिनिधि तथा रसद समर्थन सेवा उपलब्ध गराइनेछ । यो सम्भावित रक्षा सम्झौता अमेरिकी विदेशी सैन्य बिक्री (एफएमएस) च्यानलअन्तर्गत सञ्चालन गरिनेछ ।
अमेरिकी विदेश मन्त्रालयले यस सम्झौताले भारत–अमेरिका रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने जनाएको छ ।
भारतको सैन्य क्षमता थप बलियो हुने
यो सम्झौताले वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने भारतको क्षमता बढाउने अपेक्षा गरिएको छ । यसले भारतको घरेलु सुरक्षालाई मजबुत बनाउनुका साथै क्षेत्रीय खतरालाई नियन्त्रण गर्न पनि सहयोग पुग्ने बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भारतले यी सेवा तथा उपकरणलाई आफ्नो सेनामा सहज रूपमा एकीकृत गर्न सक्नेछ । साथै, यस रक्षा सम्झौताले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै ठूलो प्रभाव नपार्ने दाबी पनि गरिएको छ ।
अमेरिकाले भारतलाई हिन्द–प्रशान्त तथा दक्षिण एसियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्वपूर्ण साझेदारका रूपमा वर्णन गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया