विचारः “के त्यो कुर्सी मेरो आजीवनको थियो र?”

जीवन एउटा अद्भुत यात्रा हो। यहाँ कोही सधैं माथि रहँदैन। कोही सधैं तल पनि रहँदैन। समयको आफ्नै गति हुन्छ, जसले आज सत्ताको शिखरमा पुगेको मानिसलाई भोलि साधारण पङ्क्तिमा उभ्याउँछ। जीवनमा ठूलो पद प्राप्त हुन्छ, शक्ति हातमा आउँछ, धन कमाइन्छ, सम्मान र शानको चमक फैलिन्छ। त्यसैबीच, मनमा अहंकार पलाउँछ। “अब म ठुलो भएँ” भन्ने भ्रमले हृदय ढाक्छ। अरू साना लाग्न थाल्छन्, विनम्रता हराउँछ र मनुष्यत्वलाई नै सत्ताको कुर्सीले निल्न थाल्छ।

तर समय सधैं एकै ठाउँमा अडिँदैन। जसरी बिहानको घाम साँझ पर्खाल पछाडि हराउँछ, त्यस्तै गरी शक्ति, पद र धनको तेज पनि मन्द हुँदै जान्छ। जुन सिंहासनलाई स्थायी ठानिएको थियो, त्यो एकदिन खाली हुन्छ। नयाँ व्यक्तित्व त्यही कुर्सीमा बस्छ र हिजोसम्म आदेश दिने हात आज सलाम गर्न बाध्य हुन्छ। त्यही बेला मनमा प्रश्न उठ्छः “के त्यो कुर्सी मेरो आजीवनको थियो र?”

साँचो कुरा के हो भने कुर्सी त अस्थायी हो। स्थायी भनेको त मानवीयता हो। पदले ठूलो बनाउँदैन, व्यवहारले बनाउँछ। धनले प्रतिष्ठा दिन सक्छ तर चरित्रले मात्र सम्मान दिलाउँछ। साँचो ठुलोपन भनेको अरूलाई सानो देखाउन होइन, आफू ठूलो भएर पनि सबैलाई समान दृष्टिले हेर्न सक्ने क्षमता हो।

यदि पद, मान र सत्ताको उच्च स्थानमा रहँदा पनि हामीले सबैप्रति समानता, करुणा र दयाभाव राख्न सक्यौं भने त्यसबाट हाम्रो कद घट्दैन। बरु अझ ठूलो बन्छ। कारण विनम्रतामा सच्चा महानता बस्छ।

जीवनको अन्त्यमा न त कुर्सी रहन्छ, न पद, न शक्ति। बाँच्छ भने केवल हाम्रो व्यवहारको सम्झना जसले अरूको हृदयमा हाम्रो नामलाई अमर बनाउँछ। त्यसैले जब कुर्सी पाउँछौं, त्यसलाई सिंहासन होइन, जिम्मेवारी ठानौं; अनि घमण्ड होइन, सेवाको भावना आत्मसात गरौं। किनकि अन्ततः समयकै अदालतमा विनम्रता नै सबैभन्दा ठूलो पद हो भन्नेमा दुइमत नहोला।

साभार :- टियन कुँवरबाट