कोशीमा तीन दिनमा ४५ जनाको मृत्यु, २९ हजार प्रभावित
तीन दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षा र त्यसपछिको विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरणअनुसार विपद्मा परी ४५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । यसैगरी, ३ जना अझै बेपत्ता छन् । कैयन् परिवार विस्थापित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार मृत्यु हुने ४५ जनामध्ये ३८ जना इलाम जिल्लाका मात्रै रहेका छन् । यसैगरी, पाँचथर र उदयपुरमा २–२ जना तथा मोरङ, सुनसरी र खोटाङमा १–१ जनाको मृत्यु भएको छ ।
घाइते हुनेको संख्या ४२ पुगेको छ । जसमा इलाममा मात्रै २६ जना घाइते भएका छन् । यसबाहेक पाँचथर र भोजपुरमा ३–३ जना, सुनसरी र धनकुटामा २–२ जना, तथा ताप्लेजुङ, उदयपुर, ओखलढुङ्गा र खोटाङमा १–१ जना घाइते भएका छन् । साथै, इलाम, सुनसरी र भोजपुरबाट १–१ जना गरी कुल ३ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विपद्का कारण ६ हजार चार सय ४८ घरपरिवार विस्थापित भएका छन् । जसमध्ये झापामा मात्रै ५ हजार ५ सय ३३ घरपरिवार विस्थापित भएका छन् । त्यसैगरी, सुनसरीमा ५ सय, मोरङमा ३ सय ८६, उदयपुरमा २०, धनकुटामा ६ तथा सोलुखुम्बुमा ३ घरपरिवार विस्थापित भएका छन् । विपद्बाट कुल २९ हजार ३९२ जना प्रभावित भएकोमा झापामा मात्रै २५ हजार ४८१ जना प्रभावित भएका छन् ।
विपद् प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । हालसम्म प्रहरीले २ हजार १ सय ५ जनाको सफल उद्धार गरेको जनाएको छ । सबैभन्दा बढी मोरङबाट १ हजार ७६४ जनाको उद्धार गरिएको छ । त्यसैगरी, झापाबाट २८१, उदयपुरबाट ५२ र इलामबाट ८ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि प्रदेशभरमा २ हजार ३३७ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
विपद्का कारण विभिन्न जिल्लाका १८ स्थानमा सडक अझै अवरुद्ध छन् । जसले गर्दा उद्धार तथा राहत सामग्री ढुवानीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । भोजपुर र उदयपुरमा ४–४ स्थान, धनकुटामा ३, संखुवासभा र खोटाङमा २–२ तथा इलाम, सुनसरी र ओखलढुंगामा १–१ स्थानमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । मुख्यगरी कोशी राजमार्ग अन्तर्गात संखुवासभाको भोटखोला ४ बरुणखोला, मकालु गाउँपालिका ३ एकुवा सडक खण्ड अवरुद्ध बनेको छ । यस्तै इलाम ९ राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै भोजपुरको टेम्के मैंयुङ गाउँपालिका १ श्रीदल स्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
प्रतिक्रिया