नेकपा अन्तरकलह तल्लो तहसम्मै

काठमाडौं । सत्तारूढ नेकपाका शीर्ष नेताहरूको केन्द्रमा अन्तरकलह चुलिइरहेका बेला त्यसका बाछिटा तल्लो तहमा पनि देखिन थालेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनस्थित उनकै निर्वाचन क्षेत्रमा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्तिहरूले नाराबाजी गर्नुका साथै हुलहुज्जतको प्रयास गरेका छन् । यसअघि पार्टीभित्रको विवाद मिलाउने कार्यदलमा बसेर सहमतिको प्रस्ताव तयार पार्ने भूमिका निर्वाह गरेका नेता पाण्डेले त्यही प्रस्तावबारे कुरा उप्काउँदा ओलीनिकट कार्यकर्ताहरू सुरज थपलिया, प्रकाश कालाखेतीलगायतको समूहले नाराबाजी गरेको हो ।

थपलिया वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार जगन्नाथ थपलियाका छोरा एवं वाग्मती प्रदेशका भूमि व्यवस्थामन्त्री दाबा लामाका ज्वाइँ हुन् । कालाखेती विद्यार्थी नेता तथा मदन भण्डारी फाउन्डेसनको राप्ती नगरको प्रचार समिति संयोजक हुन् । उनीहरूसहित युवाको एउटा समूह राप्ती नगरपालिकाकी मेयर प्रभा बरालसँगै कार्यक्रमस्थलमा पुगेको थियो । पाण्डेले पार्टीभित्र कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै प्रतिवेदनमा कुनै पनि फाउन्डेसनका नाममा गुटबन्दी गर्न नहुने जस्ता प्रावधान रहेको विषयमा बोलेका थिए । फाउन्डेसनको कुरा सुन्नेबित्तिकै ओलीपक्षधर युवाले नाराबाजी गरे ।

नेकपाभित्र शीर्ष नेताहरू नै संलग्न रहेका विभिन्न नेताका नाममा प्रतिष्ठानहरू छन् । ती प्रतिष्ठानभित्र नेताहरूले गुटजन्य गतिविधि गरिरहेका छन् । त्यस्तो गतिविधि गर्नेमा मदन भण्डारी फाउन्डेसन बढ्ता सक्रिय छ । पार्टीभित्र ओली समस्यामा परेका बेला यो फाउन्डेसनको ब्यानरमा उनको समूहका नेताहरूले कार्यक्रम गर्ने गरेका छन् । कतिपय अवस्थामा ओली आफैं पनि फाउन्डेसनको कार्यक्रममा सहभागी भएर पार्टीभित्रका विषयबारे बोल्छन् ।

यस्ता फाउन्डेसनले नेताहरूबीच वैमनस्यता बढाएको भन्दै भदौ २६ को स्थायी कमिटी बैठकपछि बनेको कार्यदलले प्रतिष्ठानहरूमार्फत गुटगत गतिविधि गर्न नहुने निष्कर्ष निकालेको थियो । तर यो विषय प्रवेश हुनेबित्तिकै चितवनमा पाण्डेविरुद्ध ओलीपक्षले नाराबाजी गरेको हो । ‘उहाँ ९पाण्डे० ले पार्टी अध्यक्षकै बारेमा अनावश्यक टिप्पणी गर्नुभयो । पार्टीको भेलामा आएर अध्यक्षको टिप्पणी गरेपछि हामीले सामान्य प्रतिवाद गरेका हौं । यस्ता अनावश्यक टिप्पणीले एकता कायम रहँदैन । हामीले पार्टी एकता जिन्दावाद भन्दै पाण्डेजीको भनाइको प्रतिवाद गरेका हौं,’ कालाखेतीले भने ।
नेकपा विवाद मिलाउने भूमिकामा संलग्न रहेका नेतामाथि नै प्रहार भएपछि चितवन घटनाको परकम्प केन्द्रीय नेतृत्वसमक्ष आइसकेको छ । ओली समूहले पाण्डेमाथि दुर्व्यवहार गरेकामा आपत्ति जनाउँदै पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले वक्तव्य जारी गरेका छन् । उनीहरूले केन्द्रमा नेताहरूबीचको अन्तरसंघर्ष चुलिइरहँदा भएको घटनाले झन् समस्या ल्याउन सक्ने उल्लेख गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउँछु,’ वरिष्ठ नेता खनालले भनेका छन्, ‘पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घटनाले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सबैलाई अनुरोध छ ।’


वरिष्ठ नेता नेपालले चितवन घटनालाई सुनियोजित भनेका छन् । ‘पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेका बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवं भर्त्सना गर्छु,’ वरिष्ठ नेता नेपालले भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

नेकपाका प्र्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि ट्वीट गर्दै पाण्डेमाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् । ‘पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन कसैको पनि हित गर्दैन । चेत होस्,’ उनले भनेका छन् । नेकपाकै स्थायी कमिटी सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि पाण्डेविरुद्धको घटनाबारे टिप्पणी गरेका छन् । ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो,’ उनले ट्वीट गरेका छन् ।
नेकपा सचिवालय बैठकमा ओलीविरुद्ध अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो आरोप सहितको दस्तावेज हालै पेस गरेका छन् । उक्त प्रस्तावमा वरिष्ठ नेता खनाल र नेपाल लगायतका नेताहरूको मौन समर्थन छ । त्यसैले दाहाल–नेपाल र ओली समूहका नेताहरूबीच वैमनस्य बढेको छ । आउँदो १३ गते बस्ने सचिवालय बैठकमा दाहालका आरोपको जवाफसहित ओलीले अर्को प्रतिवेदन पेस गर्ने तयारी गरिरहेका छन् । यही पृष्ठभूमिमा दुवै पक्षका नेता र कार्यकर्ता पनि ध्रुवीकृत भइरहेका छन् । चितवनमा भएको घटनामा ‘राजनेता केपी ओली जिन्दावाद’ भन्दै ओलीको पक्षमा नाराबाजी हुनु र पाण्डेलाई एकताविरोधी भन्दै विरोध गर्नु कार्यकर्ताहरूसमेत ध्रवीकृत हुँदै गएको प्रमाण हो ।

गैरराजनीतिक र पराजयको बाटो : पाण्डे
स्थायी कमिटी सदस्य पाण्डेले आफूविरुद्धको उक्त घटना सुनियोजित नै रहेको बताए । कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा उनले त्यहाँ हुलहुज्जत गर्ने व्यक्ति कसैबाट परिचालन भएको बताए । ‘उनीहरू केही जानेका मान्छे होइनन्, तिनलाई जसरी परिचालन गर्न खोजियो र जसले परिचालन गर्दैछ त्यो गलत हो,’ पाण्डेले कान्तिपुरसँग भने, ‘हामीबीच विमति हुन सक्छन्, विमतिसँग डिल गर्ने यो गैरराजनीतिक तरिका हो । गैरराजनीतिक तरिकाले कोही पनि गन्तव्यमा पुग्दैन ।’ उनले यस्ता घटनाले पार्टीभित्रको स्थितिलाई बढी उत्तेजित बनाउने बताए । ‘तर म घटनाबाट उत्तेजित हुनुहुँदैन भन्ने मान्यता राख्छु,’ पाण्डेले भने, ‘यस्तो कुराबाट राजनीतिलाई जितिँदैन, यो त पराजयको बाटो हिँड्ने तरिका मात्र हो ।’यो खबर आजको कान्तिपुर दैनिकमा रहेको छ ।