अमेरिका मैत्रीपूर्ण फुटबल खेलमा ६७ वर्षपछि घरेलु मैदानमै क्यानडासँग हार्याे अमेरिका

अमेरिका मैत्रीपूर्ण फुटबल खेलमा क्यानडासँगको २–१ ले पराजित भएको छ । ऊ क्यानडासँग ६७ वर्षपछि पराजित भएको हो ।

यसअघि अमेरिकाले क्यानडासँग सन् १९५७ मा पराजय बेहोरेको थियो । त्यसयता ऊ क्यानडाविरुद्ध अपराजित थियो । शनिबार भएको खेलमा भने अमेरिका घरेलु मैदानमै क्यानडासँग स्तब्ध भयो ।   

क्यानडाको जितमा ज्याकोब शाफेलबर्ग र जोनाथन डेभिडले एक/एक गोल गरे । अमेरिकाका लागि लुका डे ला टोरेले एक गोल फर्काए । चिल्ड्रेन्स मर्सी पार्कमा भएको खेलमा ७औँ मिनेटमा शाफेलबर्गले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, डेभिडले ५८औँ मिनेटमा गोल गर्दै क्यानडलाई २–० ले अघि बढाए । ६६औँ मिनेटमा लुका डे ला टोरेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि गोल हुन नसकेपछि अमेरिकन टिमले साढे १० हजार दर्शकसामु पराजय बेहोर्‍यो ।