घुससहित रंगेहात पक्राउ परेका पोखरा महानगरका इन्जिनियरसहित ३ जना दोषी ठहर

 घुससहित रंगेहात पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् ।

घर निर्माणको नक्सा पास प्रमाणपत्र दिनेक्रममा इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर घुससहित पक्राउ परेका थिए । उनीहरुलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । यस्तै, विशेष अदालतले घुस दिन मतियारको काम गरेका सुरजलाई आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो ।