होटल याक एन्ड यती बिक्रीको अवफाहपछाडिको नियत के ?

याक एन्ड यती होटल बिक्रीमा रहेको भनी हल्ला चलाइएपछि उक्त होटलको व्यवस्थापनले खण्डन गरेको छ । होटल बिक्री गर्ने कुनै तयारी र योजना नरहेको भन्दै याक एन्ड यती व्यवस्थापनले कपोपलकल्पित सामग्री प्रकाशन प्रसारण नगर्न आमसञ्चारजगतलाई आग्रह पनि गरेको छ । 

केही सञ्चार माध्यमले कम्पनीको सद्भाव र प्रतिष्ठामै आँच पुग्ने गरी निराधार सामग्री प्रकाशन तथा प्रसारण गरेको भन्दै याक एन्ड यतीले प्रेस काउन्सिल नेपालमा उजुरी पनि गरेको छ । काउन्सिलले ती सञ्चार संस्थालाई स्पष्टीकरण सोधी कारबाहीको प्रक्रिया अघि बढाएको छ । 

याक एन्ड यती होटल नेपालको पर्यटन उद्योग तथा हस्पिटालिटी क्षेत्रको एक पायोनियर संस्था हो । यसले नै नेपालको अतिथि सत्कार क्षेत्रमा एउटा ट्रेन्ड सेट गरेको थियो । संघीय राजधानी काठमाडौँको केन्द्र भागमा रहेको यो होटल मुलुकको राजनीतिक इतिहास जोडिएको र पुरानो वास्तुकलाको एक धरोहर पनि हो ।
 

राणाकालीन लालदरबारमा स्थापित यो अग्रणी पाँचतारे होटल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीकर्ता तथा विदेशी उद्यमीहरुका लागि पनि नमुना उद्यमका रुपमा रहँदै आएको छ । करिब ५० वर्षको इतिहास रहेको यो होटल नेपालकै लागि एउटा शान हो ।

नेपालमा राम्रा होटल र गुणस्तरीय अतिथि सत्कार सेवा नभइरहेका बेला राधेश्याम सर्राफजस्ता पायोनियर होटल व्यवसायीको दूरदर्शी सोच र व्यावसायिक कला एवं क्षमताका कारण यस होटलले अति विशिष्ट पाहुनाको स्वागत सत्कार, ठूल्ठूला सभा समारोह आयोजना सम्भव तुल्याएको थियो । 

नारायणहिटी राजदबारको नजिकै रहेको यस होटलको अवस्थिति उत्तिकै महत्त्वपूर्ण छ । परम्परागत वास्तुकलालाई जोगाउँदै आधुनिक सेवा सुविधा दिन सफल यो होटल सराफ परिवारको प्रतिष्ठाको विम्ब पनि रहेको छ । नेपालकै होटल हायात पनि सञ्चालन गरिरहेको यस समूहले वर्षेनि ठूलो संख्यामा विदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिँदै आएको छ । ती पर्यटकसँगै भित्रिने विदेशी मुद्रा, त्यसबाट सिर्जना हुने  अन्य व्यवसाय, रोजगारी तथा राजस्वको पक्ष बेग्लै छ । 

अर्थतन्त्रमा यति ठूलो योगदान भएको यो समूह नेपालको राजनीतिक वर्ग, मिडिया तथा कर्मचारीतन्त्रको परपीडक प्रवृत्तिको कारण बेलाबेला तड्पिने गरेको छ । राज्य र समाजका सबै तप्काले सम्मान गर्नुको सट्टा उल्टै तड्पाउने, अफवाह फैलाएर हतोत्साहित बनाउने र होटलको प्रतिष्ठामा आँच पुर्याउने यस खालका गतिविधिले कसैलाई हित गर्दैन । 

नेपाल र नेपालीले पर्यटन उद्योग क्षेत्रमा लगानी र उद्यम विस्तार गर्न नसकिरहेका बेला भारतबाट आएर सर्राफ समूहले नेपालमा पनि लगानीको अथाह सम्भावना छ भन्ने सन्देश दिन यो होटल स्थापना गरेको थियो । नेपाल र नेपालीप्रति मायाकै कारण सर्राफ समूहले नेपालमा लगानीको विविधीकरण गरी हाइड्रोलगायत उद्योग तथा पूर्वाधारका अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दै छ । यसकारण समृद्धिको महाभियानमा रहेको मुलुकमा यस खालका लगानीकर्तालाई हतोत्साहित बनाउने होइन, हौसला प्रदान गर्नुपर्छ । अवरोध सिर्जना गर्ने होइन, सहजीकरण गर्नुपर्छ । 

यतिखेर याक एन्ड यती होटल बिक्री हुँदै छ भनेर अफवाह फैलाउनुको कारण के हो ? कुन स्वार्थसमूहको कारण यो हल्ला फैलाइँदै छ ? यसबारे राज्यका निकायहरुले नै गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।