स्कटल्याण्ड विरुद्धको टि २० आई सिरिजमा अस्ट्रेलियाकाे क्लिन स्विप

 अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ ।

स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो ।

स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा क्यामरन ग्रिनले ३९ बलमा २ चौका र ५ छक्काको सहयोगमा नट आउट ६२ रन बनाए

कप्तान मिचेल मार्शले २३ बलमा ३१, टिम डेबिडले १४ बलमा २५ तथा ओपनर ट्राभिस हेडले ११ बलमा १२ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा ज्याक जार्भिसले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

टोलीका लागि ब्रेन्डन म्याकमुलनले ३९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाए । ओपनर जर्ज मुन्सेले १७ बलमा २५, मार्क वाटले १२ बलमा १८, माईकल लिक्सले ७ बलमा १३ रन जोडे ।

अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले ३, सन एबोट र आरोन हार्डिले समान २ तथा मार्कस स्टोइनस र एडम जाम्पाले समान १ विकेट लिए ।