एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किएका छन् । यही भदौ १६ गते रुस प्रस्थान गरेका नेपाल शनिबार दिउँसो काठमाडौं ओर्लिएका हुन् ।

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस गएका थिए । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो । साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएका थिए ।

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमेत भाग लिएका थिए ।स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफूलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमण सफल भएको बताए ।

भ्रमणबाट नेपालको पहिचान तथा विशेषतालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन र समाजवादी तथा कम्युनिष्ट पार्टीहरूबीच आफ्नो पार्टीको सम्बन्ध विस्तार गर्न सहयोग पुगेको उनले सुनाए ।अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

नेकपा एसले हालैमात्र निर्वाचन प्रक्रियाबाट पदाधिकारी र पोलिटब्युरोलाई पूर्णता दिएको थियो । पार्टीका सबै कमिटीले पूर्णता पाएपछि अब बैठक राखेर नेताहरुलाई जिम्मेवारी दिने नेकपा एसको तयारी छ ।