आज देशभर मनसुनी वायुको प्रभाव, देशभर आंशिकदेखि साधारणतया बदली रहने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

यतिबेला (शनिबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदली छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ।