फ्रान्सलाई इटालीले उसैको घरेलु मैदानमा हरायाे

इटालीले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । शुक्रबार राति भएको यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा इटाली ३-१ गोलले विजयी बन्यो ।

खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । १२ औँ सेकेण्डमा नै ब्राइली बारकोलाले इटालियन खेलाडीको पासलाई हस्तक्षेप गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा फेडेरिको डिमार्कोले सान्ड्रो टोनालीको क्रसमा उत्कृष्ट भलीमार्फत खेल बराबरी गरे ।

दोस्रो हाफको ५० औँ मिनेटमा इन्टर मिलानका फ्राट्टेसीले इटालीलाई पार्क डेस प्रिन्सेसमा अग्रता दिलाए । ७४ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीको जित सुनिश्चित गरे ।

खेलमा आर्सनलका डिफेन्डर रिकार्डो कालाफिओरी घाइते भएका छन् । ओसमान डेम्बेलेसँग जुध्दा उनको खुट्टामा चोट लागेको छ ।