जोस इङ्ग्लिसको कीर्तिमानी शतकमा स्कटल्याण्ड माथि अस्ट्रेलियाकाे ७० रनको जित

विकेटकिपर जोस इङ्ग्लिसको कीर्तिमानी शतकमा अस्ट्रेलियाले दोस्रो टि‌ ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ ।

टि ट्वान्टी सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टि‌ ट्वान्टीमा ७० रनको जित हात पारेको हो ।

पहिलो खेल ७ विकेटले जितेको पाहुना टोलीले यो जितसँगै सिरिज २-० ले १ खेल अगावै जितेको छ । अस्ट्रेलियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६.४ ओभरमा अल आउट हुदै १ सय २६ रन मात्र बनाउन सक्यो ।टोलीका लागि ब्रेन्डन म्याकमुलनले ४२ बलमा ४ चौका र ४ छक्काको सहयोयमा सर्वाधिक ५९ रन जोडे । ओपनर जर्ज मुन्सेले ९ बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले ४, क्यामरन ग्रीनले २ तथा सन एबोट, जेभियर बार्टलेट, एडम जाम्पा र आरोन हार्डिले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो ।

अस्ट्रेलियाका लागि विकेटकिपर इङ्ग्लिसले सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले । उनले ४९ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । उनले अस्ट्रेलियाका लागि टि ट्वान्टी आईमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाए ।इङ्ग्लिसले ४३ बलमा शतक पूरा गर्दै यो कीर्तिमान आफ्नो नाम गरे । यसअघि यो कीर्तिमान आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसको नाममा रहेको थियो । फिन्चले २०१३ मा इङ्ग्ल्यान्डसँग तथा म्याक्सवेल र इङ्ग्लिसले गत वर्ष भारतविरुद्ध समान ४७ बलमा शतक पूरा गरेका थिए ।

क्यामरन ग्रिनले २९ बलमा ३६, मार्कस स्टोइनेसले नट आउट २० तथा टिम डेबिडले नट आउट १७ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा क्रिस सोलले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।