न्यू मेक्सिकोमा स्न्यापच्याट सञ्चालन गर्ने कम्पनीविरुद्ध मुद्दा दायर

न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले स्न्यापच्याट सञ्चालन गर्ने कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा साइटको डिजाइन र नीतिहरूले बाल यौन शोषण सामग्री साझा गर्न र बाल यौन शोषणलाई सहजीकरण गर्ने आरोप लगाइएको छ।

महान्यायाधिवक्ता टोरेजले बिहीबार सान्ता फेको राज्य अदालतमा स्न्याप इंकविरुद्ध मुद्दा दायर गरेका हुन्। यौन दुर्व्यवहारबाहेक मुद्दामा कम्पनीले खुला रूपमा बाल तस्करी, लागुऔषध र हतियारलाई पनि बढावा दिने आरोप लगाएको छ।

गत डिसेम्बरमा टोरेजले इन्स्टाग्राम र फेसबुकको मूल कम्पनी मेटाविरुद्ध पनि यस्तै मुद्दा दायर गरेका थिए। मेटाले आफ्ना प्लेटफर्महरूमा यौन शोषण सामग्रीको व्यापार र नाबालिगलाई यौन शोषणको लागि ललचाउन अनुमति दिने उनको दावी थियो। उक्त मुद्दा अझै विचाराधीन छ।

टोरेजले भने, “स्न्यापका ‘हानिकारक डिजाइन सुविधाहरू’ ले यौन शोषण र अन्य प्रकारका यौन दुर्व्यवहारमार्फत बालबालिकालाई सजिलै लक्ष्य बनाउन सक्ने वातावरण सिर्जना गर्छ।” यौन शोषण, जसलाई “सेक्स्टर्सन” भनिन्छ,मा कसैलाई अश्लील फोटो अनलाइन पठाउन राजी गराउनु र त्यसपछि पीडितले पैसा तिर्न वा यौन कृयामा संलग्न नभएसम्म ती तस्वीरहरू सार्वजनिक गर्ने धम्की दिनु हो।

“स्न्यापले प्रयोगकर्ताहरूलाई उनीहरूको प्लेटफर्ममा पठाइएका फोटो र भिडियोहरू हराउने विश्वास दिलाएको छ, तर मौका छोपेर बस्ने ह्याकरहरूले यो सामग्री स्थायी रूपमा क्याप्चर गर्न सक्छन्, र उनीहरूले बाल यौनसम्बन्धी फोटोहरूको एउटा भर्चुअल वर्षपुस्तक सिर्जना गरेका छन्, जुन अनिश्चितकालसम्म व्यापार, बिक्री र भण्डारण गरिन्छ,” टोरेजले भने।

मुद्दाका अनुसार, स्न्यापच्याटमा अन्य कुनै पनि प्लेटफर्मभन्दा बढी नाबालिगहरूले अनलाइन यौन अन्तर्क्रिया गर्ने रिपोर्ट गरेका छन्, र यौन तस्करीका पीडितहरू पनि स्न्यापच्याटमा अन्य प्लेटफर्मभन्दा बढी भर्ना भएका छन्।

मुद्दाअघि न्यू मेक्सिकोले स्न्यापच्याटमा बाल यौन दुर्व्यवहार फोटोहरूको बारेमा महिनौं लामो अण्डरकभर अनुसन्धान गरेको थियो।

टोरेजको विज्ञप्तिका अनुसार, अनुसन्धानले स्न्यापबाट चोरिएका, गैर-सहमतिक यौन फोटो/भिडियोहरू साझा गर्न समर्पित डार्क वेब साइटहरूको ‘विस्तृत नेटवर्क’ फेला पार्यो, जसले गत वर्षमा स्न्याप र बाल यौन दुर्व्यवहार सामग्रीसँग सम्बन्धित १०,००० भन्दा बढी अभिलेखहरू फेला पारेको थियो। यसमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाको यौन दुर्व्यवहारसम्बन्धी जानकारी पनि समावेश थियो।