मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्नता

 म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्यामा सलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको छ । मीनाको प्रेमी भनिने २१ वर्षीय राम खत्रीसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा मुद्दा दर्ता गराएको हो ।

रामसहित उनको आमा ४५ वर्षीया रेणु खत्री, दाइ २६ वर्षीय विक्की खत्री, भाइ २२ वर्षीय श्याम खत्री र सालो नाता पर्ने १८ वर्षीय रोजन खत्रीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

गत पुस १६ गते राति वेपत्ता भएकी परियारको शव हत्या गरी गाडेको अवस्थामा गत साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा फेला परेको थियो ।आरोपित रामले सरकारी वकिल कार्यालयमा वयानका क्रममा हत्या गरेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।

‘प्रतिवादी राम खत्रीलाई अनुसन्धानका क्रममा कारागारबाट झिकाएर सरकारी वकिल कार्यालयमा वयान गराएका थियौं । वयानका क्रममा निजले उक्त घटना घटाएको भनेर स्वीकार गरेको अवस्था छ’, उनले भने । भौतिक सबुत लगायत अन्य प्रमाणमा लाग्ने वस्तु लगायत अन्य परिक्षणको लागी नेपाल प्रहरी केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको श्रेष्ठले बताए ।

गर्भ बसेको थाहा पाएपछि रामले मीनालाई बोलाएर हत्या गरेको देखिएको डिएसपी श्रेष्ठले जानकारी दिए । हत्यामा परिवारका सदस्यले समेत सहयोग गरेको देखिएकाले उनीहरुविरुद्द पनि मुद्दा दर्ता गरेको उनको भनाइ छ ।