क्रिप्टोकरेन्सीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको आरोपमा सहायक हवल्दार खड्का थुनामा

काठमाडौं प्रहरी परिसरले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको छ । 

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा गत शुक्रबार पक्राउ गरेर एक आरोपीबाट ५० लाख रूपैयाँ लिएर आइतबार छोडेको खुलेको हो । बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म रकम पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको छ । प्रहरीले पक्राउ गरेका क्रिप्टोकरेन्सी कारोबारी भने क्यानडा उडिसकेका छन् । उनी प्रहरीले छोडेलगत्तै क्यानडा भागेका हुन् । 

पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको छ । हवल्दारकै मिलेमतोमा उनी छुटे वा अन्य प्रहरी अधिकारीको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका आरोपीका आफन्तमार्फत रकम लिने बिचौलीया हाल फरार छन् ।  

उनी पनि लामो समय क्यानडा बसेर फर्किएको प्रहरीले बताएको छ ।