प्रधानन्यायाधीशका नातीद्धारा न्यायाधीश पद अस्वीकार

काठमाण्डौं,२१ भदौ  : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका नाती अधिवक्ता मनिषकुमार श्रेष्ठले उच्च अदालतको न्यायाधीश अस्वीकार गरेका छन् । 
मिति उल्लेख नगरी अधिवक्ता श्रेष्ठले आज जारी गरेको प्रेस वक्तव्यमा आफू न्यायाधीश पदको लागि कुनै सांठगाठमा सामेल नभएकोले आफू न्यायाधीश पदका लागि मरिहत्ते गरेर नहिडेको पनि दावी गरेका छन् । 

धेरै अधिवक्ताहरुले आज उनको वक्तव्यलाई फेसबुक पेजमा शेयर गरेर अधिवक्ता श्रेष्ठले साहसिक काम गरेको उल्लेख गर्दै उनको प्रशंसा गरेका छन् । युवापुस्ताले न्यायाधीश गरेको विरलै पाइने गरेको सन्दर्भमा श्रेष्ठको प्रयासलाई प्रशंसायोग्य भएको टिप्पणी गरेका छन् ।

पछिल्लो कालमा नियुक्ति कर्ताका छोराछोरी, नातिनातिना, भान्जाभान्जी, सालासाली लगायतका आफन्त र राजनीतिक कार्यकर्ताको नियुक्तिले आक्रान्त भइरहेको सन्दर्भमा अधिवक्ता श्रेष्ठले न्यायाधीश पद अस्वीकार गरी उदाहरणीय काम गरेका छन् ।

एउटा अनलाईन पोर्टलले पूर्वधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसंगको सांठगाठमा अधिवक्ता श्रेष्ठसमेत उच्च अदालतको न्यायाधीशमा नियुक्ति हुनै लागेको भन्दै समाचार प्रकाशित गरे लगत्तै अधिवक्ता श्रेष्ठले आफू नियुक्तिको दौडधुपमा नरहेको वक्तव्य मार्फत खण्डन गरेका हुन । 

न्यायाधीश बन्नु नै परे आफ्नो क्षमताबाट मुलुकको स्थापित कानुनको अधिनमा रहेर न्यायाधीश नियुक्त हुने मापदण्ड पूरा गरेर नै न्यायाधीश बन्ने तर कसैसंग आफू न्यायाधीश पदका लागि सांठगाठमा नलागेको पनि श्रेष्ठले स्पष्ट पारेका छन् । अधिवक्ता श्रेष्ठको वक्तव्यमा भनिएको छ, “आफु त्यसका लागि कुनै दिन पनि इच्छुक नभइरहँदा विना आधार यस्ता समाचार सम्प्रेषण हुँदा मेरो व्यक्तिगत तथा सामाजिक जीवनमा ठूलो असर परेको छ ।”

अधिवक्ता श्रेष्ठले प्रकाशित गरेको वक्तव्यमा भनिएको छ, “नेपालको संविधानले सबैलाई वाक स्वतन्त्रताको हक दिएको छ। आम मानिसलाई बोल्न र आफ्नो अभिव्यक्ति सार्वजनिक गर्न कसैले रोक लगाउन नसक्ने गरी संविधानको मौलिक हकमा नै व्यवस्था गरिएको छ। तर यति भन्दैमा कसैको मान मर्दन हुने गरी अभिव्यक्ति दिन भने पाइदैन ।”
आफूसंग सम्बन्धित विषयवस्तुको बारेमा आफूलाई सोधनी नै नगरी समाचार बनाएको प्रसंग उल्लेख गर्दै श्रेष्ठले समयमा खण्डन नगरे सो समाचार उपर आफूले कानुनी उपचार खोज्न जाने भन्दै समाचार खण्डन गर्न समेत आग्रह गरेका छन् ।
 
न्यायाधीश नियुक्तिमा कल्याण( विश्वम्भर साँठगाँठ शीर्षकमा प्रकाशित समाचारमा भने जस्तो मेरो कुनै संलग्ना नरहेको र न्यायाधीश बन्न आफु लालायित नभएको तथ्य न्यायिक तथा कानुनी क्षेत्रमा सबैसामू जगजायर नै रहेको पनि उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

आफू समाचारको पात्र नहुंदानहुंदै पनि समाचार बनाइएकोमा पनि श्रेष्ठले गुनासो गरेका छन् । 

“समाचार बनाउन लायक विषय भएको लागेको अवस्थामा मसँग एक पटक सोधेको भए उत्तम हुने थियो। मेरो बारेमा समाचार बनाउँदै गर्दा मसँग एक पटक पनि नसोधी मेरो फेसबुकको प्रोफाइलबाट फोटो तानेर समाचार पोष्ट गर्दा सम्पादकीय स्वार्थ हावी भएको प्रष्ट देखिन्छ। ”

“राज्यले नै उच्च स्थान दिएको सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्न पाउँछ तर समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित भएर मात्र लेख्नुपर्छ । ता कि सबैले विश्वास गरुन”, उनले वक्तव्यमा थप स्पष्ट पारेका छन्,” म प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछु। तर विभिन्न लान्छना लगाएर र तथ्य भन्दा बाहिर गएर आफ्नो स्वार्थ पूरा गर्न कसैको व्यक्तिगत तथा सार्वजनिक जीवनमाथि नै असर पर्ने गरी समाचार बनाउन भने हुँदैन । नेपाल पेन नामक अनलाइन पोर्टलले मेरो नाम जोडेर हुँदै नभएको तथ्य भन्दा धेरै टाढा रहेर समाचार सम्प्रेषण गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।”