१४ वर्षीय छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभियुक्तका बुवामाथि पनि मुद्दा चलाइयाे

अमेरिकामा विद्यालयभित्रै एक छात्रले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभियुक्तका बुवामाथि पनि मुद्दा चलाइएको छ।

एटलान्टाको जर्जिया सहर नजिकको अपालाची हाइस्कुलमा बुधबार दिउँसो १४ वर्षीय कोल्ट ग्रेले विद्यालयमै अन्धाधुन्ध गोली चलाएका थिए।जर्जियाको अनुसन्धान ब्युरो जिबिआइले ग्रेलाई सोही दिन विद्यालयबाटै पक्राउ गरेको थियो। त्यसपछि ग्रेका बुवा ५४ वर्षीय कोलिन ग्रेलाई पनि पक्राउ गरेको थियो।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले घटनापछि बाबु-छोराविरूद्ध नै हत्याको मुद्दा चलाइएको उल्लेख गरेको छ।छोरालाई हत्यासँग सम्बन्धित चारवटा कसुर र बाबुलाई हत्यासँगै नाबालिग छोराप्रति क्रुर बनेको सम्बन्धमा मुद्दा चलाएको छ। जिबिआईले अघिल्लो वर्ष पनि शंकास्पद गतिविधिपछि ग्रेका बाबुछोरासँग सोधपुछ गरेको थियो।

त्यतिबेला पनि विद्यालयमा गोलीकाण्ड मच्चाउने आशयका धम्कीसँगै बन्दुकका तस्बिरहरू ग्रेको सामाजिक सञ्जाल अकाउन्टबाट पोस्ट भएको थियो।त्यतिबेला अन्य आधार र प्रमाण नेभेटिएपछि प्रहरीले बाबु-छोरालाई सोधपुछ मात्रै छोडेको थियो। यद्यपि उनीहरूलाई निगरानीमै राखिएको जिबिआइले बताउँदै आएको छ।

हाइस्कुल गोलीकाण्डपछि पनि प्रहरीले अभियुक्तका बाबुसँग सोधपुछ गरेको थियो। विद्यालयमा किशोरले ल्याएको सेमिअटोमेटिक राइफल कहाँबाट आयो भन्ने अनुसन्धानका क्रममा प्रहरीले बाबुलाई सोधेको थियो। उनले आफूसँग सिकार गर्न प्रयोग हुने बन्दुकमात्रै रहेको बताएका थिए।

गोली चल्दा हाइस्कुलका दुई विद्यार्थी र २ शिक्षकको मृत्यु भएको थियो भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका थिए।