नेपाली राष्ट्रिय क्रिकेट टिमले आज श्रीलंकामा तेस्रो अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज श्रीलंकामा तेस्रो अभ्यास खेल खेल्ने तयारी गरेको छ। यो अभ्यास खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम अन्तर्गत आजको खेल निर्धारित गरिएको हो। यो अभ्यास खेल नेपालको आगामी आइसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीको रुपमा रहेको छ।

यसअघि, नेपाली टिमले खेल्नुपर्ने पहिलो र दोस्रो अभ्यास खेल अप्रत्याशित बर्षाका कारण रद्द भएका थिए। 

नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नका लागि १९ सदस्यीय टोली पठाएको छ। यस टोलीमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।

अभ्यास खेलको उद्देश्य खेलाडीहरूको व्यक्तिगत र सामूहिक प्रदर्शन सुधार गर्नु हो । तर लगातारको वर्षाका कारण श्रीलंकामा खेलाडीले भने राम्रोसँग अभ्यास गर्न पाएका छैनन् ।

श्रीलंकामा भएको अभ्यास खेल पछि, नेपाली क्रिकेट टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि यात्रा गर्नेछ।