प्रेस स्वतन्त्रताको दुरुपयोग गर्ने मिडिया आफै सकिन्छन् : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ । 

गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युव र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारवाही गर्दै आएको उहाँले बताउनुभयो । 

'आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पुरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारवाहीमा परिरहेका छन्', बिहीवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो ।  

उहाँले योजनावद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारवाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिनुभयो । उहाँले स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफै खुम्चिने समेत बताउनुभयो । 
 

युट्युव र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौं भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ, नयाँ अनलाइन, युट्युव माध्यमका सञ्चालक, सम्पादकहरुसँगको अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भन्नुभयो । 

प्रेस काउन्सिलले युट्युव माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई बर्गीकरण गरेको छ । बिना दर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारवाही गर्दै आएको छ । 

पछिल्लो ३ महिना यता ४९ वटा विभिन्न युट्युव च्यानल काउन्सिलको कारवाहीमा परेका छन् । अभिमुखिकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राख्नुभएको थियो । 

काउन्सिलले २ वर्षयता अनलाईन सञ्चार माध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखिकरण कक्षालाई अनिवार्य गराएको छ । साथै, सञ्चारमाध्यमका रुपमा चल्ने युट्युव च्यानललाई समेत दर्ता  र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाई लागु गरेको छ ।