हत्याका एक फरार अभियुक्त १७ वर्षपछि विरगञ्जबाट पक्राउ

२०६४ सालमा पर्सामा भएको हत्याका एक फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा साविक बहुअर्वाभाठा–३ (परिवर्तित विन्दवासिनी गाउँपालिका २) का ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसिया रहेका छन्।

२०६४ वैशाख २५ गते चौरसिया समेतका चार जना व्यक्तिहरूले साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनलाई जग्गाको विषयमा छलफल गर्ने भनी बोलाई कट्टा पेस्तोलले दुई राउण्ड गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।अर्को दिन वडा नं. ६ मा मृतक विनको शव फेला परेको थियो।

मृतक ढोडा मुखिया विन र अर्को एकजना व्यक्तिले एउटै जग्गा खरिद गर्नका लागि एउटै जग्गा धनीलाई वैना दिएको अनुसन्धानका क्रममा खुलेको थियो।उक्त वैना रकम सम्बन्धी विवादका कारण सो रकम फिर्ता गर्न नपरोस् भन्ने मनसायले जग्गा धनी समेतका व्यक्तिहरूले मिलोमतो गरी गोली हानी ढोडाको हत्या गरेको खुल्न आएको थियो।

वारदात पश्चात नेपालबाट भागी फरार भई रक्सौल, भारतमा लुकिछिपि बस्दै आइरहेका चौरसियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल आउने क्रममा यही भदौ १९ गते विरगञ्ज–१६ बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।मृतकको भाई नाता पर्ने गरीब मुखिया विनको जाहेरीले कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ मा चौरसियालाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नम्बर बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गरेको थियो।

सोही फैसला कार्यान्वयनका लागि निजलाई आज (भदौ२० गते) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो।