मेयर बालेन र प्रधानमन्त्री ओलीको इगोको लडाइँ, अनफलो अभियान कसले चलाइरहेको छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच इगोको लडाइँ चलेको छ। प्रधानमन्त्री ओलीका हरेक कदमप्रति आलोचना गर्दै आएका बालेन पछिल्लो पटक लुम्बिनीकी प्रदेश सांसद रेखाकुमारी शर्माको विषयले आक्रोशित भएका हुन्।

शर्मालाई बालश्रमिक दुर्व्यवहारको अभियोगमा प्रहरीले अनुसन्धान दायरामा नल्याएपछि आक्रोशित हुँदै आएका थिए। उनी प्रधानमन्त्री ओलीको दल एमालेकी नेतृ हुन्। यो विषयमा बालेनले प्रधानमन्त्री ओली लक्षित गरी टिप्पणी गरेका थिए। तर, एमाले समर्थित फेसबुक प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाइदिएको थियो। बालेनको सचिवालयका अनुसार उक्त फेसबुक पोस्टमा अत्यधिक रिपोर्ट आएपछि पोस्ट नै हटेको छ । ‘धेरैले (सांसद शर्माको) फोटो प्रयोग गरेको भनेर रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाएको जस्तो देखिन्छ। अहिले हामी पोस्ट रिकभर गर्ने प्रयासरत छौं, यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो,’ बालेनको सचिवालय भन्यो।

बालेनको पोस्ट नै हटाइदिएपछि प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान चलाइएको छ। विशेषगरी बालेनका फ्यानले यो अभियान चलाएका हुन्।  मंगलबार साँझसम्म ओलीको आधिकारिक फेसबुक पेजमा ६ लाख ३२ हजार फलोअर थिए। तर, घटेर ५ लाख ८९ हजारमा झरेका छन्। हुन् त प्रधानमन्त्री ओलीका समर्थकले पनि फेसबुक पेजमा फलो गर्ने अभियान पनि चलाएका छन्। महासचिव शंकर पोखरेलले नै फेसबुक पेज सेयर गरेर फलो गर्न भनेका छन्।

तर, फेसबुकमा फलो र अनफलो अभियान राजनीतिक दृष्टिकोषमा पनि राम्रो होइन। संविधानले नै संघ, प्रदेश र स्थानीय तहका अधिकार छुट्याइदिएको छ। अधिकार कार्यान्वयनमा सहकार्य आवश्यक छ। जसरी पेलेरै जाने बालेनको प्रवृत्ति छ, त्यो पनि ठीक छैन। उनले कार्यशैलीमा सुधार गर्नुपर्छ। जस्तै, न्यूरोडमा फुटपाथ विस्तार गर्दा सडक विभागले रोकेको थियो। तर, बालेन भने ओलीको विरोधमा उत्रिएका थिए। त्यतिखेर ओली प्रधानमन्त्री पनि थिएनन्।