आज र भोलि सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा बेटिङ साइटको प्रचार

 आज र भोलि (१९ र २० भदौ) सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा बेटिङ साइटको लिङ्क शेयर भइरहेको पाइएको छ ।

बिदासम्बन्धी समाचार भनेर शेयर गरिएको लिङ्क खोल्दा बेटिङ साइट वनएक्स बेटको प्रचार गरिएको देख्न सकिन्छ ।

शेयर गरिएको उक्त लिङ्क हेर्दा नै शंकास्पद देखिन्छ, जुन फेसबुकका विभिन्न ग्रुपहरूमा शेयर गरिएको छ । सरकारी क्यालेन्डरमा १९ र २० भदौमा कुनै बिदा छैन । भोलि २० गते तीजको दर खाने दिन परेपनि सार्वजनिक बिदा दिइएको छैन ।

त्यसैगरी, कतिपयले गृह मन्त्रालयको सूचना भन्दै सरकारले बिदा दिएको भनेर पोस्ट शेयर गरिरहेका छन् । सूचनामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्ने भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तर, अहिले कतारका अमिर नेपाल आउने कुनै योजना छैन ।

उनी गत वैशाखमा नेपाल आएका थिए र त्यही बेलाको सूचनालाई अहिले तोडमोड गरेर मिथ्या सूचना फैलाइएको छ ।