३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्ने

तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । योसँगै आगामी महिनादेखि धरहरा चढेर काठमाडौं नियाल्ने सर्वसाधारणको चहानापूरा हुने भएको छ ।

सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँबगै सोहीअनुसार काम भइरहेको छ । ‘पछिल्लो समय थपिएको मितिअनुसार हामीसँग केही समय अझै बाँकी छ । धरहरा सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम गरिरहेका छौँ,’ सिंहले भने, ‘सुन्धाराबाहेकका काम गर्नुपर्ने हो । ती काम ३ असोजभित्र सक्छौँ ।’ उनका अनुसार बिजुली बत्तीको कामबाहेक अन्य काम सकिसकेको छ । निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबर (२० असोज)मा सकिँदैछ ।

धरहरा सञ्चालनमा प्रधानमन्त्री ओलीले नै चासो दिएपछि पछिल्लोपटक थपिएको मितिभन्दा अगाडि नै निर्माण कम्पनीले काम सक्न लागेको जनाएको छ । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

१३ दिनपछिबाट धरहरा सञ्चालनमा ल्याउने भनिए पनि यसको सञ्चालन मोडालिटी भने अझै तयार भएको छैन ।धरहरा कसरी, कसले र कुन रूपबाट सञ्चालन हुन्छभन्नेबारे मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने उपमहानिर्देशक अधिकारी बताउँछन् । ‘धरहरा सञ्चालनको मोडालिटीबारे केही छलफल भएको सुनेको छु । तर,थप जानकारी छैन,’ अधिकारीले भने ।