आज रातभर मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

हाल (मंगलबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादली) छ भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातभर मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। अनि कोसी, मधेस, लुम्बिनी र बागमती  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि हुने सम्भावना महाशाखाले जनाएको छ। 

यतिबेला काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकामा अपराह्नदेखि वर्षा भइरहेको हो। ‘अहिले अपराह्नभन्दा वर्षा केही कम भएको छ’, उनले भने, ‘उपत्यकाको आकाशभरि बादल छ, तर पानी भने सबै ठाउँमा परिरहेको छैन।’

उनका अनुसार उपत्यकाका आज हल्कादेखि मध्यम वर्षा भएको छ। वर्षा राति पनि जारी रहनेछ। ‘काठमाडौँ उपत्यकामा आजलाई भारी वर्षा हुने सम्भवना देखिएको छैन,’ उनले भने।तर स्थानीयले भने आज अपराह्न ४ बजेतिर ललितपुरमा ठूलो पानी परेको बताएका छन्।