रवि र पूर्वउपराष्ट्रपतिका पुत्रविरुद्धको सहकारी ठगीको फाइल खोल्यो प्रहरीले

प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, पूर्वराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसहितविरुद्धको सहकारी ठगीसम्बन्धीको फाइल खोलेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा ७ महिना अघि परेको पुरक जाहेरीमा थन्किएर बसेकोमा रवि सत्ताबाट बाहिरिएसँगै फाइल खुलेको हो।  रमेश लेखक गृहमन्त्री भएसँगै प्रहरी महानिरीक्षकलाई बोलाएर अनुसन्धान गर्न भनेका थिए।

कास्की प्रहरीले  हालै मात्र लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिन आचार्य, पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान कागज गराइसकेको छ।

यसअघि दायर मुद्दामा रविलाई प्रतिवादी बनाइएको थिएन। त्यतिखेर सहकारीका अध्यक्ष थानबहादुर बुढा मगर, पूर्व अध्यक्षहरू गितेन्द्रबाबु राई (जीबी) र भूपेन्द्र राई लगायतलाई विपक्षी बनाइएको थियो। उनीहरूमध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ र भगीश्वर अर्याल पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पूर्व अध्यक्ष जीबी राई फरार छन्। उनी विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ।

तर, रविहरुलाई प्रतिवादी नबनाएकाले पीडितले पुरक उजुरी दिएका थिए। जीबी राई अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन सहकारीको रकम लगानी गरिएको थियो। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रवि लामिछाने प्रबन्ध निर्देशक थिए। एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी पीडितको छ ।  सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

बचतकर्ताले संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि गुहारेका थिए। त्यसपछि संसदीय छानबिन समिति गठन भएको थियो। समितिले समस्याग्रस्त सबै सहकारीको छानबिन गरिरहेको छ। समिति सक्रिय रहेका बेला प्रहरीले पनि सूर्यदर्शनको पूरक उजुरीको फाइल खोलेको हो।

प्रहरीले यो समूहले सञ्चालन गरेका र पुरक जाहेरीमा प्रतिवादी बनाइएका संस्थाहरू गोर्खा मिडिया नेटवर्क, नेचर हब र नेचर नेस्टको कार्यालयमा छापा हानेको छ। कागजात बरामद गरेर पोखरा लगिएको छ।