८ महिनामा भित्रिए ७ लाख २० हजार पर्यटक

जनवरीदेखि अगस्ट महिनासम्म ७ लाख २० हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल घुम्न आएका हुन् । 

अगष्टमा मात्र ७२ हजार ७१९ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ । मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्याङ्कमा देखिन्छ । तथ्याङ्क अनुसार मनसुनको सिजनमा पर्यटकको सङ्ख्यामा कमि आएको छ । नेपालको सडक र हवाई क्षेत्र असुरक्षित हुँदा सास्ती झेल्नुपर्ने मनसुनको सिजनमा भएपछि पर्यटकको सङ्ख्या घटेको हो । 

कुन देशबाट कति ? 
यस अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन् । धेरै पर्यटक नेपाल भ्रमणमा आउने दोस्रो देश चीन रहेको छ भने अमेरिका तेस्रो स्थानमा छ । तथ्याङ्क अनुसार भारतबाट २५ हजार ८३२ पर्यटक नेपाल भित्रिएका हुन् ।

अगस्ट महिनामा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३.१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६६५ जना भारतीय पर्यटक नेपाल आएका थिए ।

नेपालमा भारतीय पर्यटक स्थलमार्गबाट पनि आउने गरेका छन् । यद्यपि नेपालले भने यसरी आउनेलाई पर्यटक मानेको छैन ।

त्यस्तै, चीनबाट ६ हजार ६१४ जना पर्यटक आएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक आएका थिए । सो आधारमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको देखिन्छ । 

notice.JPG

यसैगरी, अमेरिकाबाट ५ हजार ६१४ जना पर्यटक यस महिना नेपाल भित्रिएका छन् । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा बढी हो । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६२९ जना नेपाल आएको देखिन्छ ।

त्यस्तै, अगस्टमा श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ जनापर्यटक नेपाल भ्रमणमा आएका छन् ।