साथीलाई मोबाइल प्रयोग गर्न दिँदा उल्टै साइबर अपराधको मुद्दा

करिब पाँच महिनाअघि रक्षा शर्मा (नाम परिवर्तन) र सुस्मिता थारूको भेट क्याफेमा काम गर्ने सिलसिलामा भएको थियो । एउटै ठाउँमा काम गर्ने भएपछि उनीहरूको सम्बन्ध घनिष्ट हुँदै गयो । नजिकका मिल्ने साथी भएपछि उनीहरू आफ्नो खर्च जोगाउन सँगै एउटै कोठामा बस्ने निधो गरे । 

केही समयसम्म सम्बन्ध राम्रै थियो । विस्तारै विभिन्न कुरामा उनीहरूको कुरा मिलेन । क्याफेमा समेत वादविवाद गर्न थाले । “हामीले काम गर्दै जाँदा काम गर्ने ठाउँमा उन(शर्मा)ले मलाई मात्र काम लगाउने, गाली गर्ने, मसँग झगडा गर्ने, मेरो रिस गर्ने गरेपछि हामीबीच सामान्य झगडा भएको थियो,” सुस्मिता सम्झिन्छिन् । 

झगडा भएपछि उनीहरू छुट्टाछुट्टै बस्न थाले । यता त्यहीबेला सुस्मिताकी साथीले उनको भेट निष्टा दहितसँग गराइदिइन् । निष्टाको घर काठमाडौंमै हो । उनी कहिलेकाहीं सुस्मिताको कोठामा आउने जाने गर्थिन् । एक महिनाअघि निष्टाकी आमा गाउँको घरमा गइन् । आमा गएपछि घरमा एक्लै भएकी निष्टाले केही दिन साथी सुस्मितासँग बस्ने योजना बनाइन् र उनको कोठामा पुगिन् । 

त्यस क्रममा सुस्मिताले आफ्नो रक्षासँग झगडा परेको कुरा निष्टालाई सुनाइन् । “यसले मेरो धेरै रिस गरेकी छ,” सुस्मिताले शर्माको टिकटक भिडिओ देखाउँदै निष्टालाई भनिन्, “मेरो गाउँमा गई बेइज्जत गरेकी छ । यसको पनि मैले बेइज्जत गरिदिन्छु ।”

यति भनेर सुस्मिताले निष्टाको मोबाइल मागिन् । आफ्नो मोबाइलबाट नक्कली अकाउन्ट बनाए रक्षालाई थाहा भइहाल्ने भन्दै उनले निष्टालाई मोबाइल दिन अनुरोध गरिन् । निष्टाले सुरुमा यस्तो काम गर्न हुन्न भनेर सुस्मितालाई सम्झाइन् । यसरी चरित्रहत्या गर्दा प्रहरीले पक्राउ गर्छ भनेर समेत सम्झाइन् । आफ्नो मोबाइलबाट अकाउन्ट बनाए आफू फस्ने भन्दै निष्टाले सुस्मितालाई रोक्न खोजिन् । तर, सुस्मिताले बदलाको भाव राख्दै भनिन्, “केही हुँदैन । यस्ता अनपढ गँवारले के गर्न सक्छ र ?” 

यति भन्दै सुस्मिताले निष्टाको सिम प्रयोग गरी ‘माया म’ नामको नक्कली फेसबुक अकाउन्ट बनाइन् । उक्त अकाउन्टबाट सुस्मिताले रक्षाको फोन नम्बर स्टाटस लेखेर सार्वजनिक गरिदिइन् । त्यति मात्र नभई शर्माको फोटो राख्दै स्टाटसमा लेखिन्, “सेक्सी गर्ल । मज्जा लिने होइन त डार्लिङ हरू ? भा** केटी म । फलो गर्नुस्, जवानीको मजा लिनुस् ।”

आफ्नो फोटोमाथि अश्लील स्टाटस राखेर नक्कली अकाउन्ट बनाएको थाहा पाएपछि रक्षाले साइबर ब्युरोमा निवेदन दिइन् । उनको निवेदमको आधारमा अनुसन्धान गर्दै जाँदा ब्युरोले बर्दियाकी २३ वर्षीय सुस्मिता थारू उक्त घटनामा संलग्न भएको पत्ता लगायो ।

२३ साउन २०८१ मा काठमाडौंबाट थारूलाई पक्राउ गरी ब्युरोले थप अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा काठमाडौंकी २४ वर्षीया निष्टा दहित पनि संलग्न रहेको खुलेको छ । प्रहरीसँग बयान दिने क्रममा निष्टाले आफ्नो मोबाइल सुस्मितालाई दिएर नक्कली अकाउन्ट बनाउन दिनु आफ्नो गल्ती भएको स्वीकारेकी छिन् ।

सुस्मिता र निष्टालाई प्रतिवादी बनाएर १२ भाद्रमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ । सो अभियोगपत्रमा सुस्मिता र निष्ठालाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको छ । साथै सोही ऐनको दफा ५८ (क) र दफा ७६ बमोजिम क्षतिपुर्ती भराइदिन समेत मागदाबी गरिएको छ ।