१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार नभए अनशन बस्ने पूर्वमुख्यमन्त्री कार्कीकाे चेतावनी

 कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सूचारु नगरिए अनशन बस्ने चेतावनी दिएका छन् ।

शुक्रबार प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै कार्कीले भने, “वर्तमान सरकारले मन्त्री, त्यसपछि सांसद त्यसपछि कार्यकर्ता केन्द्रित हुनेगरी बजेट ल्याएको छ । तर, देशकै भविष्य मानिएका बालबालिकाको बजेट कटौती गरेको छ । यदि यो कार्यक्रम निरन्तर नभए मुख्यमन्त्री कार्यालय अगाडि कात्रो लिएर अनशन सुरु गर्छु ।”

कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले जनताको करबाट बन्ने बजेट जनताको लागि केन्द्रित नगरेको भन्दै जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रम कटौती भएको बताए । बालबालिकाको निःशुल्क उपचार केदार कार्की मुख्यमन्त्री हुँदा सुरु भएको थियो ।

उनले भने, “म जनताको साथ लिएर अनशन बस्छु, कात्रो किन्ने रकम मुख्यमन्त्रीज्यूसँग छैन भने चन्दा उठाएर खरिद गरिदिन्छौँ ।” विपन्नको लागि छात्रवृत्ति कार्यक्रम, महिला स्वम्सेविका प्रोत्साहन कार्यक्रम, केसलिया करिडोर कटौती गरिएकोप्रति कार्कीले रोष प्रकट गरेका थिए ।

कार्कीले अहिलेको सरकारले वितरणमुखी र कार्यकर्तामुखी बजेट ल्याएर जनतामाथि अन्याय गरेको आरोप लगाउँदै सुकुम्बासीले जग्गा खरिद गर्दा सरकारले दिने घोषणा गरेको ब्याज अनुदान कार्यक्रम कटौती भएको बताए । उनले भने, “सुकुम्बासीलाई गरिब नै छाड्ने कि त्यो जीवनबाट माथि उठाउने ?” उनले जनमुखी कार्यक्रम कटाएर सरकार जनताप्रति जिम्मेवार बन्न नसक्ने बताए ।