बौद्ध विश्वविद्यालयलाई छात्रवृत्तिका लागि ४० लाख दान

 लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् । 

चिनियाँ भिक्षु तथा नागरिकले व्यक्तिगत रुपमा रकम जम्मागरी विश्वविद्यालयलाई दान स्वरुप रु ४० लाख एक हजार दान गरेका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रमका बीच चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गर्नुभयो ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताउनुभयो ।

विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको जानकारी गराउँदै सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । त्यस्तै चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरूले हस्तान्तरण गरेको दान निरन्तर गर्दै जाने बताउनुभयो ।

चिनियाँ भिक्षुसहित १५ जना परिवारले सङ्कलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् ।