बजेटका कार्यान्वयनमा लाग्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरुसँगको छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले मात्र नागरिक अपेक्षा पूरा हुने बताउनुभयो । 

“राजनीतिक नेतृत्वले नीति निर्माण गर्ने हो”, उहाँले भन्नुभयो, “त्यसको कार्यान्वयनमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुन्छ । पहिलो चौमासिकमै परिणाम देखाउने गरी काममा लाग्नुस् ।”

आफ्नो वृत्ति विकास, सरुवा र बढुवामा मात्र केन्द्रित नभई नागरिकका अपेक्षा पूरा हुने गरी सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई सुझाउनुभयो । सरकारका काम कारबाहीलाई जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गराउन सकिएमात्र सुशासन कायम हुने भन्दै उहाँले प्रदेश सरकारले कर्णालीमा कार्यरत कर्मचारीको मनोबल कमजोर हुन नदिने जिकिर गर्नुभयो । कर्णालीको समृद्धि र विकासका लागि नीति निर्माण र कार्यान्वयन तहबीचको सघन सम्बन्ध अपरिहार्य रहेको उहाँको भनाइ थियो ।