टी २० विश्वकप : नेपालले  बंगलादेश विरूद टस जितेर पहिले बलिङ गर्ने

 आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा आज  बंगलादेशसँग सामना गर्दै छ। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो। 

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ। 

समूह ‘डि’ बाट दक्षिण अफ्रिका ८ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह ‘डि’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ। नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अंक तालिकामा बंगलादेशको चार अंक छ। 

भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध १० वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। 

विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी भएको थियो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अंक बाँडेका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियो।

विश्वकपमा एक अंक बटुलेको श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ। नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ।